हिन्दूहरुको महान् चाड दशैं घरघरमा भित्रिएको छ । पारिवारिक मिलनका रुपमा विकसित हुँदै आएको दशैंको धार्मिक, सांस्कृतिक र पौराणिक महत्वसमेत छ । महत्वकै आधारमा पनि यो पर्वलाई ठूलो चाड मानिएको हो । पन्ध्र दिनसम्म मनाइने भएकाले अन्य चाडभन्दा विशेष रहँदै आएको छ । मानिसको व्यावहारिकदेखि सामाजिक अर्थमा पनि दशैं नेपाली सम्पूर्ण समुदायकै चाड बन्ने गरेको छ । नेपालमा बसोबास गर्ने सबै समुदाय र वर्गले समानरुपमा नमनाए पनि सामाजिक प्रभाव पर्ने गरेको छ । यसर्थ पनि नेपालीमात्रको पर्वका रुपमा रहँदै आएको हो । फरक समुदायले यो चाडलाई आफ्नै सांस्कृतिक विश्वास, आस्था र दृष्टिकोणबाट मनाउने गरेको पाइन्छ । बिरोध वा समर्थन जे जसरी भए पनि दशैं सबैको चाड बनेको छ ।

सद्भावका लागि पर्वहरुको महत्व हुने गर्दछ । तर समय र परिस्थितिअनुसार मनाउने शैलीमा विविधिता हुँदै आएको छ । नेपाली संस्कृतिमा पश्चिमा शैलीको प्रवेशले केही विकृति आएको यथार्थ हो । विशुद्ध नेपाली परम्परागतरुपमा मनाउँदा दशैं अनुशासनको पर्याय हो । दशैंमा लामो समयसम्म घरपरिवारभन्दा अलग बस्न बाध्य भएका परिवारका सदस्यहरु आफ्नो गाउँघर फर्कने गर्दछन् । परिवारको ज्येष्ठ सदस्यबाट आशीर्वाद लिने दशैंको विशेषता नै हो । आशीष लिने र दिने संस्कृति बोकेको दशैंलाई पौराणिक तथा धार्मिक आस्थासँग पनि जोड्न सकिन्छ । कथ्यभन्दा पनि मानिसको व्यवहारले पर्वहरुको गरिमा बढाउने काम गर्दछ । यही ओजपूर्ण मान्यताको प्रतीक दशै हो ।

कोभिड महामारी जारी रहेकै अवस्थामा यो वर्ष दशैं मनाउने क्रममा छौं । सुनसान भएका गाउँ बस्तीमा चाड सुरु भएसँगै चहलपहल बढेको छ । महामारीबाट हजारौं नेपालीको ज्यान गएको छ । यस्तो अवस्थामा पर्वमा हुनुपर्ने हर्षोल्लासपूर्ण वातावरण अझै छैन । तर घटना दुर्घटना मानव जीवनका नियमित चर्या हुन् र सोहीअनुसार ग्रहण गरेर बाँकी जीवन सहज बनाउनुको विकल्प छैन । त्यसैले हाम्रा सांस्कृतिक चाडपर्वहरुलाई जीवन उपयोगी बनाउनेतर्फ प्रयास हुनु पर्दछ । महामारीबाट सबै क्षेत्र प्रभावित हुँदै गर्दा आर्थिक पक्ष थप अप्ठेरोमा छ । सबै नेपालीको आम्दानीका श्रोत कमजोर छन् । तर महंगी आकाशिएको छ । अझ दशैंजस्तो चाडमा बजार मूल्य बढ्ने गरेको छ । राज्यले यस विषयमा सहजीकरण गर्दै चाड मनाउन सहज बनाउनु आवश्यक छ ।

महंगीले नागरिक जीवन कठिन बन्दै गएको अवस्थामा दशैं मनाउन थप आर्थिक व्यय हुने अवस्था छ । पर्वहरु मनाउने क्रममा सामाजिक असमानता बढ्दै गएको छ । देखासिकी गर्ने होडले कमजोर आर्थिक अवस्था भएकाहरुलाई दशैं दशा बन्नसक्छ । त्यसैले आफ्नो क्षमता र गच्छेअनुसार पर्व मनाउनु पर्दछ । बैभव प्रदर्शनभन्दा पनि सामाजिक मूल्य, मान्यता र सद्भाव कायम हुनेगरी दशैं मनाउनु नै नेपाली सांस्कृतिक मान्यता हो । असुरक्षा, व्यभिचार, अन्याय, अत्याचार, कुशासनको अन्त्य आजको आवश्यकता हो । समानता र न्यायका लागि खबरदारी गर्ने तथा भातृत्वको विकास गर्दै समग्र नागरिक हितमा विजया दशमीले सबैलाई प्रेरणा मिलोस् । दशैं सबैका लागि शुभ होस् ।