मकवानपुर जिल्ला राजनीतिकरुपमा बामपन्थीको किल्लाका रुपमा परिचित छ । पञ्चायत कालमा रुपचन्द्र विष्टले चलाएको थाहा अभियान तथा उनका राजनीतिक दर्शनबाट प्रभावित रह्यो । कम्युनिष्टको प्रभाव कम गर्ने उद्देश्यबाट तत्कालीन शासकहरुले पञ्चायतका विभिन्न पदमा यस जिल्लाबाट नियुक्ति नदिएको होइन । तर कम्युनिष्टको प्रभाव कम भएन । बहुदलपछिका सबै निर्वाचनमा कम्युनिष्टलाई नै यहाँका नागरिकले निर्वाचित गरेका हुन् । तर सत्ताको अवसर कहिल्यै पाउन सकेनन् । नागरिकको सेवा गर्न सत्तामै पुग्नुपर्ने पद्दतिको विकास भएको छ । मकवानपुरे कम्युनिष्ट नेताहरु सत्तामा पुग्न नसकेकोमा आलोचित हुँदै आएका पनि छन् । एमालेले पटक–पटक सरकार बनाउँदा पनि मकवानपुरबाट निर्वाचित सांसदले मन्त्री बन्ने मौका पाउन सकेनन् ।

पञ्चायत तथा राजाको शासनकालमा कमल थापा धेरै पटक सरकारमा गएका छन्, तर नागरिकले कुनै भिन्न अनुभूति गर्न पाएनन् । काम गर्ने अवसर पाए पनि थापाले केही नगरेको आरोप लाग्दै आएको छ । यस्तै नेपाली कांग्रेसकी नेतृ डीना उपाध्यायले छोटो मौका पाएकी थिइन् । २०७० सालको निर्वाचनमा जिल्लाबाट कांग्रेसको विजय सुरुवात गराउने ईन्द्रबहादुर बानियाँ गृह राज्यमन्त्रीसम्म भएका छन् । उनले पनि ९ महिनामात्र अवसर पाएका हुन् । कांग्रेसले निर्वाचन जित्नासाथ सरकारमा जाने मौका पाउने, तर कम्युनिष्टहरुले पटक–पटक चुनाव जितेपनि सरकारमा किन जान सकेनन् ? यही प्रश्नको उत्तर खोज्ने क्रममा कम्युनिष्टको किल्लाका रुपमा परिचित मकवानपुरमा विस्तारै कांग्रेसको प्रभाव बढ्दै गएको देखिन्छ ।

मकवानपुरले फेरि एक पटक मौका पाएको छ । एमालेबाट चार पटकसम्म जनताले पत्याएका सांसद बिरोध खतिवडा बल्ल सरकारमा जाने मौका मिलेको छ । एमाले नेतृत्वले जनताको विश्वासलाई मूल्यांकन नगर्दा खतिवडालाई सरकारमा जान दल विभाजन गर्नुपर्ने अवस्था आउनु कुनै पनि अर्थमा सुखद् हैन । मकवानपुरे जनता एमालेको पक्षमा हुँदा केन्द्रीय नेतृत्व विपक्षमा भएपछि विभाजन स्वभाविक देखिन्छ । नयाँ पार्टी गठन गरेपछिमात्र बिरोध खतिवडा स्वास्थ्य मन्त्री बन्न सफल भएका छन् । एमालेमा रहुञ्जेल मौका किन पाएनन् ? एमाले नेतृत्व मकवानपुरप्रति किन अनुदार भइरह्यो ? यसको उत्तर समयले दिने नै छ । यतिबेला देशले नै आशा गरेको व्यक्तिले मकवानपुरको तर्फबाट मौका पाएको अवस्था हो ।

वर्तमान सरकारको समय छोटो छ । चुनौतीका चाङमाथि मन्त्रिमण्डल बनेको छ । त्यसमाथि पनि कोभिड महामारी नियन्त्रण, स्वास्थ्य क्षेत्रमा हिजो भएका वेथिति पर्गेल्ने र मौलिक हकले प्रत्याभूत गरेको स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउनुपर्ने जिम्मेवारी छ । यी सबै कामका अतिरिक्त खतिवडालाई मकवानपुर जिल्लाबासीले गरेको अपेक्षा पूरा गराउनेतर्फ सकारात्मक पहल गर्नुपर्ने देखिन्छ । खतिवडाले सरकारमा बसेर गर्ने काम उनीसहित रहेर गठन गरेको दलको भविष्यसँग पनि जोडिएको छ । सत्तामा गएकाहरुले राम्रो काम गर्ने, सुशासन कायम गर्ने र त्यति पनि नभए कम्तिमा आफ्नो चरित्रलाई शुद्ध बनाई राख्न सके भने मकवानपुरे नागरिकले सधैं स्मरण गर्नेछन् । अनावश्यक आश्वासनभन्दा यथार्थ धरातलमा बसेर काम गर्नु आजको आवश्यकता हो ।