हेटौंडाः हेटौंडा—२, चौकीटोलमा रहेका ओम वृद्वाश्रमको १५ औं वार्षिक साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ । ओम वृद्वाश्रमका अध्यक्ष बुद्विप्रसाद पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा १० हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने सहयोगीदाताहरु ४२ जना, ५० हजारभन्दा माथि सहयोग गर्ने एक जना र जिन्सी सामान सहयोग गर्ने ५ जनालाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । आश्रममा ३० जना वृद्ववृद्वाहरु आश्रित रहेका छन् ।
बन्दसत्रपश्चात् अधिवेशनबाट आश्रमको अध्यक्षमा सिद्विलाल श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । वृद्धाश्रमको उपाध्यक्षमा वेगम बराल, सचिवमा नारायण कँडेल, कोषाध्यक्षमा फणिन्द्रप्रसाद तिमल्सिना, सहसचिवमा विष्णुलाल श्रेष्ठ र ४ जना सदस्य पनि सर्वसम्मत चयन गरिएको छ ।
कार्यक्रममा नवनियुक्त अध्यक्ष श्रेष्ठले पुरुष आवास भवनको दोस्रो तल्ला निर्माण गर्न दाताको खोजी गरिने बताउनुभयो । आश्रमका निवर्तमान अध्यक्ष पौडेलले अक्षयकोषलाई १ करोड पुर्याउने लक्ष्य रहेको बताउनुभयो । आर्थिक वर्ष २०७७/०७८ सालमा १ करोड ६३ लाख ४ हजार २ सय २८ रुपैयाँ आम्दानी भएको पौडेलले बताउनुभयो ।