गुगल तस्बिर

हेटौंडाः नेपालीहरुको महान चाड बडादशैंको चौथो दिन आज आइतबार देवी कुष्माण्डाको पूजा आराधना गरिँदैछ । दशैंको नवरात्रभर नौ वटा देवीस्वरुपको पूजा आराधना गर्ने हिन्दू धर्मको परम्पराअनुसार चौथो दिन देवी कुष्माण्डाको पूजाअर्चना गरिन्छ ।

कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । यी देवीमा तातो रगत भएका मानव, चराचुरुङ्गी तथा चिसो रगत भएका माछा, भ्यागुता, सर्पलगायतका सारा प्राणीको सिर्जना गर्ने शक्ति रहेको शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।

कुष्माण्डाको अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतल हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ । त्यसैले शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डोको विधिपूर्वक पूजा गरी त्यसैको बलिसमेत चढाउने गरिन्छ ।

आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)देखि आश्विन शुक्ल नवमीसम्मलाई नवरात्रि भनिन्छ । नवरात्रिको पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । यस वर्ष आश्विन शुक्ल षष्ठी तिथि टुटेका कारण आगामी मंगलबार सप्तमी अर्थात् फूलपाती रहेको छ । दशैंको मुख्य दिन विजयादशमी असोज २९ गते शुक्रबार परेको छ ।