बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले चाडपर्वको समयमा विकास निर्माणको कामहरु बन्द रहने जनाएको छ । छठ पर्वसम्म विकास निर्माणको काम बन्द हुने भएका छन् । विकास आयोजनाहरु नै लामो समयसम्म विदामा बस्ने निर्णय पुुँजीगत खर्चसँग जोडिन्छ । प्रत्येक वर्ष निर्माणसम्बन्धी खर्चले लक्ष्य भेट्टाउन नसकेको तथ्यांक एकातर्फ छ भने अर्कोतर्फ लामो समयसम्म विकास आयोजनाहरु बन्द गर्नु कति व्यवहारिक हुनेछन् ? मकवानपुरको भैँसे हुँदै भीमफेदी र भीमफेदीबाट काठमाडौं जाने बाटोको निर्माण कार्य छठ पर्वसम्म बन्द रहनेछन् । निर्माण क्षेत्रमा काम गर्ने जनशक्ति चाडपर्व मान्न घर जाने हुँदा निर्माण कार्य बन्द हुने पूर्वाधार निर्देशनालयले नै पुष्टि गरेको छ । यसरी आयोजना नै बन्द गरेर पर्व मनाउने गर्दा विकासको गति कस्तो होला भन्ने प्रश्न स्वभाविक छ ।
ठेकेदार कम्पनीहरुलाई काम छिटो सक्न ताकेता गर्नुपर्ने निकायबाट नै छुट्टीको घोषणा गर्दा आयोजनाहरु तोकिएकै समयमा नसकिने पक्का नै छ । विगत वर्षमै सम्पन्न भइसक्नुपर्ने आयोजनाहरु कोभिड–१९ को बहानामा अधुरा नै छन् । ती परियोजनाको काम छिटो सम्पन्न गराउने गरी निर्देशन दिनुपर्ने निकायहरु नै ढिलासुस्ती गराउने औपचारिक निर्णय गर्दछन् । प्रत्येक व्यक्तिले आफ्नो सांस्कृतिक मूल्य मान्यताअनुसारका चाडपर्व मान्न पाउनुपर्दछ तर विकास योजनाहरु नै अलपत्र हुनेगरी लामो समय छुट्टीको घोषणा गर्नु पटक्कै सुहाउने विषय हैन । विगतमा पनि पर्वहरु मनाइएका थिए । तर उनीहरुलाई यति लामो घोषित विदा दिएको थिएन । यसवर्षको यो औपचारिक घोषणाले चालु वर्षमा सम्पन्न हुनुपर्ने कामसमेत प्रभावित हुने पक्का छ ।
चाडपर्व नेपाली समाजको मौलिक विशेषता भए पनि नागरिकको आर्थिक अवस्थामा असर पु¥याउँदै आएको छ । फजुल खर्च गर्ने गर्दा आयश्रोत कम भएका परिवारलाई पर्वले ऋणमात्र बोकाएको पाइन्छ । आयोजनाहरु लामो समय बन्द हुँदा मजदुरहरुले त्यही अवधिमै आर्थिक संकटको सामना गर्नुपर्ने हुन्छ । आयोजनाको काम सुचारु गरी इच्छुक जनशक्तिबाट काम गराउने व्यवस्था गर्नुपर्नेमा बन्द गराएर आयोजना नै ढिलो बनाउने अवस्था बनेको छ । पर्वलाई खर्चिलो बनाउने भन्दा आम्दानीको श्रोत बनाउने कार्यक्रम ल्याउनु आवश्यक छ । मितव्ययी बन्ने र विकासका योजना पनि सञ्चालन भइरहने गरी जनशक्ति प्रयोग गर्ने नयाँ कार्यतालिका बनाउनु पर्दछ । यसबाट श्रमिकहरुले आम्दानी पनि गर्न सक्छन् र आयोजनाहरु पनि लामो समय बन्द गर्नुपर्ने छैन ।
प्रदेशको यातायात पूर्वाधार निर्देशनालयको निर्णयले गतवर्ष सम्पन्न हुन नसकी म्याद थप भएका आयोजना पनि प्रभावित हुनेछन् । पुराना काम गर्न ठेकेदार कम्पनीलाई चैत्र मसान्तसम्म म्याद थप गरेको छ । असारमा सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौता पनि सम्पन्न नगरेका ठेकेदार कम्पनीलाई भने यसले फाइदा पु¥याएको छ । कोभिड–१९ का कारण समयमा काम गर्न नसकेको भन्दै सरकारले चैत्रसम्म ठेक्काको म्याद थप गरेको हो । तर आयोजनाहरु बन्द गरेर पर्व मनाउन थालेपछि तोकिएका समयमा फेरि पनि काम सम्पन्न हुन्छन् ? चाडपर्वमा धेरै सवारी साधनको प्रयोग हुन्छ तर सडकको दुरावस्थाले दुर्घटना बढाउने सम्भावना पनि छ । त्यसतर्पm योजनासहित काम गर्नुपर्ने बेलामा सबै जनशक्तिलाई छुट्टी दिनु व्यवहारिक हो ।