हेटौंडाः बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले चाडपर्वको समयमा विकास निर्माणको कामहरु बन्द रहने जनाएको छ । आउँदै गरेको बडादशैँ, दीपावली र छठपर्वसम्म विकास निर्माणको काम बन्द रहने निर्देशनालयका निमित्त निर्देशक सहदेव भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मकवानपुरको भैँसे हुँदै भीमफेदी र भीमफेदीबाट काठमाडौं जाने बाटोको निर्माण कार्य बन्द रहनेछ । निर्माण क्षेत्रमा काम गर्नेहरु पनि चाडपर्व मान्न घर जाने हुँदा केही समयका लागि निर्माण कार्य बन्द रहने उहाँले बताउनुभयो ।
सरकारले ठेकेदार कम्पनीलाई यो वर्षको चैत्र मसान्तसम्म ठेक्का सम्पन्न गर्न म्याद थप गरेको छ । यसअघि असारमा सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौता पनि सम्पन्न नगरेका ठेकेदार कम्पनीलाई भने यसले फाइदा पु¥याएको छ । यस्तै मंसिर, पुस, फागुनमा सम्पन्न गर्नुपर्ने अयोजना पनि अब चैत्र मसान्तसम्म सम्पन्न गर्न सकिनेछ । कोभिडका कारण समयमा काम गर्न नसकेको भन्दै सरकारले चैत्रसम्म ठेक्काको म्याद थप गरेको हो ।
मकवापनुरको भैँसेदेखि भीमफेदीसम्मको सडक फराकिलो पार्ने काम अझै सकिएको छैन । सडक चौडा पार्न ४ नम्बर वडामा काम नै सुरु हुन नसकेको यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदशको निर्देशक भण्डारीले बताउनुभयो । यसबारे छिट्टै निकास निकाल्न प्रमुख जिल्ला अधिकारीसहित सर्वदलीय बैठक बस्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।
भीमफेदी वडा नम्बर ४ मा पर्ने घरटहरा तथा जग्गाको क्षतिपूर्ति नदिने भएसँगै विकास निर्माणको काममा बाधा पुगेको उहाँले बताउनुभयो । यतिबेला सडककको दायाँ र बायाँ भागमा कटान गरेर सकिने बताउँदै उहाँले भन्नुभयो– ‘हामीले सकेको प्रयास जारी राखेका छौं ।’
चाडपर्वअघि सम्पन्न गर्नुपर्ने विकास निर्माणका कामहरु सम्पन्न गर्न प्रशासनले यसअघि नै सूचना जारी गरेको थियो । दशैअघि नै सडकहरु स्ल्याब गर्न, पिच गर्न, खाल्डाखुल्डी पुर्न यस्तो सूचना जारी भएको निर्देशक भण्डारीले जानकारी दिनुभयो ।