रग्बी मकवानपुरका महिला टिम फाइल तस्वीर ।

हेटौंडाः नेपाल रग्बी संघको आयोजनामा भक्तपुरमा भएको बागमती प्रदेशस्तरीय सेभेन ए साइड रग्बी प्रतियोगिताको महिलातर्फको उपाधि मकवानपुर जिल्लाले जितेको छ । शनिबार भएको फाइनल खेलमा मकवानपुरको महिला टिमले काठमाडौलाई १–० ट्राइले पराजित गर्दै उपाधि चुमेको हो ।

बागमती प्रदेशभित्रका जिल्लाहरुको सहभागिता रहेको प्रतियोगितामा महिलातर्फ मकवानपुर र काठमाडौंसहित ललितपुर जिल्लाको महिला टिमको सहभागिता रहेको थियो ।

लिग कम नकआउट चरणमा एकै समुहमा रहेर फाइनलअघि भएको पहिलो खेलमा मकवानपुरले काठमाडौंसँग १–१ ट्राइको बराबरी खेलेको थियो भने दोस्रो खेलमा ललितपुरलाई ७–० ट्राइले हराउँदै मकवानपुर फाइनल प्रवेश गरेको थियो । मकवानपुरका लागि निर्णायक १ ट्राइ सञ्जिता बोम्जनले गरेकी थिइन् । उनी नै प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै ५ हजार रुपैयाँ प्राप्त गरिन् । यस्तै उपाधि विजेता मकवानपुरले १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ ।

पुरुषतर्फको रग्बीमा भने मकवानपुरले खराब प्रदर्शन गर्दै प्रतियोगिताबाट बाहिरिएको छ । प्रदेशका ७ जिल्लाको टिमको सहभागिता रहेको लिगकम नकआउटको आधारमा भएको प्रतियोगितामा मकवानपुरको पुरुष टिम आफ्नो समूहमा रहेका अन्य ३ वटै टिमसँग पराजित भएको हो ।

शनिबार भएको खेलमा मकवानपुरको पुरुष टिम काठमाडौं र काभ्रेपलाञ्चोकसँग समान २–० ट्राइले पराजित भएको थियो भने चितवनसँगको खेलमा १–० ट्राइले पछाडि परेको अवस्थामा खेलाडी घाइते भएपछि खेल नै छाड्नुपरेको मकवानपुर रग्बी संघका अध्यक्ष लीलाकुमार घलानले जानकारी दिनुभयो । यस्तै पुरुष रग्बीमा भक्तपुर, रामेछाप र नुवाकोटको टिमको पनि सहभागिता रहेको थियो ।