हेटौंडाः हेटौंडा–९ मा जारी टोलस्तरीय सेभेन ए साइड फुटबल प्रतियोगितामा आइतबार भएको पहिलो खेलमा दिव्यपथ टोल विकास संस्थाले उत्कृष्ट सुरुवात गरेको छ । मकवानपुर बेरोजगार युवा संगठनको आयोजना तथा हेटौंडा उपमहानगरपालिका ९ नं. वडा कार्यालयको आर्थिक सहयोगमा आयोजित फुटबल प्रतियोगिताको तेस्रो दिन भएको पहिलो खेलमा दिव्यपथले सेतीदेवी टोललाई ५–१ गोलअन्तरले पराजित गरेको हो ।
१६ वर्षीय युवा फरवार्ड दिनेश ओझाले खेलमा ह्याट्रिक गर्दै टिमलाई ५–१ गोलको फराकिलो जीत दिलाएका छन् । खेलमा दिव्यपथकै तर्फबाट रबिन्द्र नेपाल र गोबिन्द फुयाँलले थप १-१ गोल गरे । दिव्यपथले १ गोल भने पेनाल्टीमार्फत खान पुग्यो । दिव्यपथका डिफेन्डरले डिबक्सभित्र हातले बल छोएपछि पाएको पेनाल्टीलाई सेतीदेवीका दिपेन्द्र नेपालीले गोलमा परिणत गरेका थिए । म्यान अफ दि म्याच ह्याट्रिककर्ता दिनेश घोषित भए ।
यस्तै आइतबार बिहान नै भएको दोस्रो खेलमा साबिक विजेता शान्तिचोक टोल ए ले पनि खाद्यसंस्थान टोललाई ५–१ गोलअन्तरले पराजित गरेको छ । शान्तिचोकका तर्फबाट संगम लामाले २ गोल गरे भने सागर लामा, बिशाल घलान र सागर स्याङ्तानले १-१ गोल गरेका थिए । खाद्यसंस्थानका लागि एक मात्र सान्त्वना गोल विवेक न्यौपानेले गरे । हेटौंडा औद्योगिक क्षेत्रको खेल मैदानमा जारी प्रतियोगितामा आजको तेस्रो खेल प्रगति टोल र संवेदनशील टोल बीच भइरहेको छ भने चौथो खेल त्रिवेणी टोल र धाप टोलबीच हुने आयोजकले जनाएको छ ।