पत्रकार सम्मेलन गर्दै

हेटौंडाः विजया दशमी २०७८ को अवसरमा हेटौंडा उपमहानगरपालिका र नगर खेलकुद विकास समितिको आयोजनामा हुने हेटौंडा रन दौड प्रतियोगिता बुद्धचोकबाट सुरु हुने भएको छ । यही असोज २१ गते घटस्थापनाको दिन हुने दौड प्रतियोगिता यसअघि हेटौंडा–४ स्थित लोकतान्त्रिक हुप्रचौरबाट सुरु गर्ने तयारी भएपनि हेटौंडाको बुद्धचोकमा हुने भएको हो ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीले बुद्धचोबाट दौड सुरु भएर कान्तिराजपथ हुँदै हेटौंडा–५ स्थित क्याम्पाडाँडा पुगेर पुनः सोही बाटो फर्किएर बुद्धचोकमै आएर दौडको समापन हुने जानकारी दिनुभएको छ । प्रतियोगितामा सहभागी धावकहरुले कुल ६ किलोमिटर दौडनुपर्ने पनि उहाँले बताउनुभएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ७ हजार प्रदान गरिने जनाइएको छ ।

प्रतियोगिताको उद्घाटनका साथै समापन कार्यक्रम पनि सोही दिन बुद्धचोकमै आयोजना भएर पुरस्कार वितरण गरिने जनाइएको छ । कार्यक्रम आयोजना गर्न कुल २ लाख रुपैयाँ खर्च लाग्ने नगर खेलकुद विकास समितिले जनाएको छ । अध्यक्ष शाहीको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाको प्रमुख आतिथ्य रहेको थियो ।