हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को अध्यक्ष माधव नेपालले केपि ओलीलाई अब धुलो चटाइदिने बताउनुभएको छ । एमाले विभाजनसँगै एकीकृत समाजवादी चम्किलो ताराको रुपमा उदाउँदै आएको भन्दै आगामी चुनावमा केपि ओलीलाई धुलो चटाइदिने उहाँले बताउनुभयो ।
देशमा केपि ओलीले आफुलाई चुनौती दिने कोही पनि नभएको भन्ठाने पनि आफुहरुलाई ओलिलाई चुनौती दिँएको अध्यक्ष नेपालको भनाई थियो । अध्यक्ष नेपालले सबै कार्यकर्ताले कार्ल माक्र्स, लेनीनबाद र कम्युनिष्टको इतिहास पढ्नुपर्ने भन्दै सबैले बुझ्न जरुरी रहेको बताउनुभयो ।
शनिबार हेटौंडामा एकीकृत समाजवादी मकवानपुरको जिल्ला कार्यसमितिको सपथ ग्रहण तथा जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादीलाई एमाले पार्टी भन्दा फरक पार्टीको रुपमा विस्तार गर्ने बताउनुभयो । गफाडीको पार्टी, हुकुमे शैलीको पार्टी नबनाउने भन्दै सामुहिक रुपमा अघि बढ्ने बताउनुभएको छ । उहाँले यो पार्टीलाई स्वाभीमानिको पार्टीको रुपमा अघि बढाउन चाहेको बताउनुभयो । अध्यक्ष नेपालले दुई तिहाईको सरकार हुँदा ओलिले सबैलाई मिलाएर लगेको भए कति राम्रो हुने भन्दै, हुकुमेशैलीमा आफु बाहेक कोही नेतालाई नगनेर तानाशाही प्रवृती देखाएको बताउनुभयो । उहाँले आफ्ना कार्यकर्तालाई मै हुँ भनेर कहिल्यै घमण्ड नगर्न आग्रह गर्नुभयो ।
अध्यक्ष नेपालले आफ्नो कार्यकर्तालाई पसिना बगाएर काम गरेर आफ्नो जीवन निर्वाह गर्न भनेका छन् । कृषि, उद्योग, सहकारी, व्यवापार जुन चिजमा लागेपनि आफ्नो जीवन धान्ने काम गर्नुपर्छ । यसैगरी पार्टी स्कुल स्थापना गर्न लागिएको उहाँले बताउनुभयो । पार्टी विस्तार गर्दे जिल्ला, नगर, वडा हुँदै टोलटोलमा पार्टीको कार्यक्रम पुगिरहेको बताउँदै छिट्टै जनवर्गिय संगठनहरु गठन हुने बताउनुभयो ।
यसैगरी नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी सदस्य विरोध खतिवडाले प्रतिनिधि सभाको १४ सांसदलाई संसदमा नारा लगाएर केपि ओलीले निकाल्न नसक्ने दाबी गर्नुभयो । संसदबाट निकाले १ सय ६० सांसदहरुले केपि ओलीलाई संसदबाट निकाल्न नारा लगाउने चेतावनी दिनुभयो । सत्तालिप्तीको लागि आफुहरु नभएको भन्दै बागमती प्रदेशमा दशै अघि नै पूर्व हुनको लागि केपिले मन्त्रिपरिष्द विस्तार गरेको, राजनैतिक नियुक्त गरेकोे खतिवडाले बताए ।
नेकपा एकीकृत समाजवादी मकवापनुरको अध्यक्षमा श्रीधर पोखरेल लगायत जिल्ला कार्यसमितिलाई केन्द्रिय अध्यक्ष माधव नेपालले सपथ खुवाउनुभएको थियो । सामाजवादी पाटी मकवापनुरको युवा संघ, अनेमसंघ, हेटौंडा नगर कमिटी शनिबार घोषणा भएको छ । कार्यक्रममा नेकपा एकीकृत समाजवादीको केन्द्रिय सदस्य मुनु सिग्देल लगायत प्रदेश तथा जिल्ला तहको नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।