हेटौंडाः हेटौंडा–२ स्थित विलक्षण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा शनिबारबाट सुरु भएको छ । असोज १३ गतेसम्म सेयर सदस्यको उपस्थितिमा जारी रहने साधारणसभाको उद्घाटन कार्यक्रम सहकारीका अध्यक्ष विश्वराज बानियाँको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यमा भएको थियो ।
साधारणसभाको उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका योजना तथा बजेट महाशाखाका प्रमुख भीमप्रसाद तिमल्सिना, महिला तथा बालबालिका महाशाखाका प्रमुख जगन्नाथ सापकोटाको पनि आतिथ्यता रहेको थियो । साधारणसभामा कोषाध्यक्ष भीमकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । नौं सय ६३ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी एक करोड ३५ लाख रुपैयाँ, बचत संकलन तीन करोड ७२ लाख रुपैयाँ र ऋण लगानी चार करोड ३४ लाख रुपैयाँ रहेको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
सहकारीको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले सहकारीमा महिलालाई पनि जिम्मेवारी प्रदान गर्नुपर्ने सुझाव दिनुभयो । सेयर सदस्यको हितमा सहकारीले उपयुक्त योजना बनाउने, उत्पादन र उद्यमको क्षेत्रमा लगानी गर्न पनि चौलागाईले सुझाव दिनुभयो ।
साधारणसभामा लेखा समितिका संयोजक हेमन्त कुमार ढुंगेलले सहकारीका उपसमितिहरु सक्रिय भएर सहकारीको प्रभावकारिता बढाउनु पर्ने सुझाव दिनुभयो । सहकारीका अध्यक्ष विश्वराज बानियाँले साधारणसभामा प्राप्त सल्लाह, सुझावलार्ई आत्मसाथ गर्दै आगामी दिनमा उपयुक्त योजना बनाइने बताउनुभएको छ ।