बक्सिङको प्रशिक्षण सामाग्री हस्तान्तरण गर्नुहुँदै अध्यक्ष दिपेश जोशी साथमा मुख्य प्रशिक्षक लाला पौडेल, संघका पदाधिकारीहरु तथा खेलाडीहरु ।

हेटौंडाः मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष दिपेश जोशीले करिब साढे ५ लाख रुपैयाँ बराबरको बक्सिङ प्रशिक्षण सामाग्री सहयोग गर्नुभएको छ । जिल्लामा बक्सिङ खेललाई नयाँ उचाईमा पु¥याउनका लागि खेलाडीहरुलाई प्रशस्त प्रशिक्षण सामाग्री आवश्यक पर्ने बताउनुहुँदै अध्यक्ष जोशीले आफ्नो व्यक्तिगत खर्चमा ५ लाख ४२ हजार ९ सय २२ रुपैयाँ बराबरको प्रशिक्षण सामाग्री प्रदान गर्नुभएको हो ।

शनिबार हेटौंडा–४ स्थित कभर्डहलमा रहेको जिल्ला बक्सिङ संघको प्रशिक्षण स्थलमा नै उपस्थित भएर उहाँले बक्सिङका मुुख्य प्रशिक्षक लाला पौडेललाई प्रशिक्षण सामाग्री हस्तान्तरण गर्नुभएको छ । प्रशिक्षण सामाग्रीमा २ लाख रुपैयाँ बराबरको बक्सिङ सेट जसमा १९ किसिमका प्रशिक्षण सामाग्री रहेको छ । यस्तै २ लाख रुपैयाँ बराबरको मल्टी जिमलगायत अन्य २३ किसिमका प्रशिक्षण सामाग्री रहेका छन् ।

अध्यक्ष जोशीले अबको अवस्थामा मकवानपुर जिल्ला बक्सिङ प्रशिक्षणका लागि काठमाडौं उपत्यकाभन्दा बाहिर सबैभन्दा उत्कृष्ट र प्रशिक्षण सुबिधायुक्त जिल्ला भएको दाबी गर्नुभएको छ । उहाँले मकवानपुरमा बक्सिङ प्रशिक्षणका लागि आवश्यक थप सहयोग गर्दै जाने पनि प्रतिबद्धता जनाउनुभएको छ ।

अध्यक्ष जोशीले आफ्नै खर्चमा मासिक पारिश्रमिक प्रदान गर्ने गरी मकवानपुर जिल्लाका लागि बक्सिङका सहायक प्रशिक्षक नियुक्त गर्नुभएको छ । शनिबार भएको मकवानपुर जिल्ला बक्सिङ संघको बैठकबाट उहाँले पुर्व बक्सिङ खेलाडी अनिल दाहाललाई सहायक प्रशिक्षकमा नियुक्त गर्नुभएको हो । बैठकमा द्वितीय उपाध्यक्ष नियुक्त हुनुभएका पुर्वअन्तर्राष्ट्रिय बक्सिङ खेलाडी सुशिल घिमिरेलाई पनि स्वागत गरिएको थियो ।