हेटौंडाः नेपाली कांग्रेसको आसन्न पालिकास्तरीय अधिवेशनमा सविन न्यौपानेले हेटौंडा उपमहानगरपालिकाको सचिवमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत् असोज ९ गते शनिबार पालिकास्तरीय अधिवेशन हुँदैछ ।

हेटौंडा–१ का वडा अध्यक्ष समेत रहनुभएका न्यौपानेले बुधबार कार्यकर्तासँग भेटघाटको क्रममा सचिव पदमा उम्मेद्वारी घोषणा गर्नुभएको हो । पार्टीलाई सवल र सक्षम बनाउन आफूले सचिव पदमा उम्मेद्वारी दिन लागेको न्यौपानेले बताउनुभएको छ । ‘हेटौंडा उपमहानगरमा काँग्रेसलाई सवल र सक्षम बनाउन, पार्टीमा युवा सहभागितालाई दरिलो बनाउन, पार्टीलाई संस्थागतरुपमा विकास गर्न, प्रशिक्षणको माध्यमबाट पार्टी संगठनलाई चुस्तदुरुस्त पार्न र आसन्न स्थानीय तहको निर्वाचनमा उपमहानगरपालिकामा काँग्रेसका उम्मेद्वारहरु जित्ने सांगठनिक आधार तयार गर्न मेरो उम्मेवारी हो ।’, न्यौपानेले भन्नुभयो ।

न्यौपानेले पार्टीको विधानमा व्यवस्था भएबमोजिम समावेशी सहभागिताको मुद्दालाई कार्यान्वयन प्रक्रिया सक्रिय ढंगले अगाडि बढाउनुपर्ने टड्कारो आवश्यकता औंल्याउनुभयो । डेढ दशक पत्रकारिता क्षेत्रमा क्रियाशील रहेर सक्रिय राजनीतिमा होमिनुभएका न्यौपानेले सहमति, सहकार्य र एकताको माध्यमबाट पार्टी संगठनमा क्षमतावान व्यक्तिलाई अगाडि बढाउन र पार्टीमा सामूहिक भावनाको विकास गर्न लागीपर्ने समेत बताउनुभएको छ ।