बालबालिकाको भविष्य अभिभावकको जिम्मेवारी हो । कस्तो शिक्षा दिक्षा दिने र कुन संस्कारमा हुर्काउने भन्ने कुरा अभिभावकको हातमा हुने गर्दछ । सुसंस्कृत अभिभावक छ भने उसले आफ्ना छारोछोरीलाई त्यही अनुरुप दिक्षित गरेको हुन्छ । अभिभावक आफैं व्यवस्थित छैन भने उसको घरको वातावरण पनि बालमैत्री नहुन सक्छ । तर कुनै परिस्थितिमा अभिभावक असल हुँदा सन्तान खराब र खराब अभिभावकका असल सन्तान पनि नभएका हैनन् । तर अपबादका रुपमा मात्र यस्तो अवस्था बनेको हुन्छ । शिक्षा, स्वास्थ्य, शारीरिक तन्दरुस्तीजस्ता विषय उनीहरुका आधारभूत अधिकारभित्र पर्दछन् । आफ्ना नानीहरुलाई अधिकार उपयोगको वातावरण बनाइदिनेहरु नै जिम्मेवार अभिभावक बन्न सक्छन् । सबै अभिभावकहरु आफ्ना सन्तानप्रति चिन्तित हुन्छन्, तर प्रस्तुतिमात्र फरक परेको हुन्छ ।

अभिभावकले सन्तानको हितविपरित क्रियाकलाप गर्दैनन् । पशुले समेत आफ्ना सन्तानको ख्याल गरेको हुन्छ भने मानिसले त स्वभाविकरुपमा जिम्मेवारी लिन्छ । कति जिम्मेवार बन्ने भन्ने प्रश्नमात्र फरक हो । सन्तानको कुन तहसम्मको जिम्मेवारी लिने भन्ने कुरा अभिभावकमा रहेको चेतना, आर्थिक अवस्था, पारिवारिक वातावरणदेखि सन्तान स्वयम्को क्षमता र सक्रियतामा भरपर्ने गर्दछ । धेरै अभिभावकहरुले सन्तानको हेरचाह आफ्नो बृद्धावस्थाका लागि सोचेका हुन्छन् भने आधुनिक अभिभावकहरुले उनीहरुको भविष्यको चिन्ता गरेका हुन्छन् । सन्तान राम्रो भए आफूलाई बृद्धावस्थामा सुख देलान् भन्ने नेपाली परिवेश छ । बालबालिकाहरु उच्च शिक्षायुक्त भए र विवेकशील बनेमा स्वभाविकरुपमा त्यसको प्रतिफल अभिभावकले पाउनेछन् । तर आशाले भन्दा निस्वार्थ जिम्मेवार बन्नसक्नु चुनौती छ ।

हेटौंडामा हालै बालबालिकाको स्याहारमा अभिभावकको भूमिका विषयमा अभिभावकहरुले नै निबन्ध लेखन तथा प्रस्तुतीको कार्यक्रम समेत भएको छ । प्रतियोगिताले अभिभावकका प्रयासहरु प्रकट भएका छन् । बालबालिकालाई हेर्ने दृष्टिकोणदेखि उनीहरुको आशा र अपेक्षा पूरा गर्न अभिभावकले आफ्ना प्रतिवद्धता समेत व्यक्त भएका छन् । अभिभावक जिम्मेवार हुन्छन् तर त्यसका लागि के कुराको आवश्यकता हुन्छ र अभावका बीच पनि उनीहरुले आफ्ना सन्तानको उन्नतिका लागि के गर्नुपर्दछ भन्ने भावना प्रकट गरेको पाइन्छ । बालबालिकाको पहिलो पाठशाला नै घर हो भने अभिभावक प्रथम गुरु हुन् । त्यसैले उनीहरुले दिएको शिक्षा नै बालबालिकाका लागि मार्गदर्शन बन्ने गर्दछ । आधुनिक समाजमा प्रतिस्पर्धा गर्नसक्ने योग्य सन्तान बनाउने पहिलो जिम्मेवारी अभिभावककै हो ।

समग्र जीवनका लागि अभिभावक आधारस्तम्भ हुन् । अझ यतिबेला उनीहरुको भूमिका ठूलो छ । महामारीका समयमा आफ्ना नानीहरुलाई सुरक्षित राख्ने मुख्य जिम्मेवारी अभिभावककै हो । कोरोनाको प्रभावबाट जोगाउन लामो समयदेखि बन्द भएका विद्यालयहरु खुल्न थालेका छन् । बालबालिकाहरु विद्यालय जान थालेका छन्, तर कोरोना महामारी अझै हटेको छैन । केही कम भएको हो तर नियन्त्रण भइनसकेको हुँदा कोरोना महामारीबाट बालबालिकालाई घरदेखि विद्यालयसम्म जोगाउनुपर्ने अवस्था छ । विद्यालयले जतिसुकै सुरक्षित राख्ने प्रयास गरे पनि सम्भावना कम हुन्छ । यसमा अभिभावकहरुले बच्चाहरुलाई गर्नुपर्ने प्रशिक्षित र सावधानीका लागि अपनाउनुपर्ने विधिमा बालबालिकालाई जिम्मेवार बनाउनुपर्दछ । यो भूमिकामा पनि अभिभावकहरुको नै जिम्मेवारी हुन्छ ।