Home मुख्य समाचार महिलालाई सहकारीमा जोडेर आर्थिक अवस्था सबल बनाउन लाग्नुपर्छः उपमेयर लामा

महिलालाई सहकारीमा जोडेर आर्थिक अवस्था सबल बनाउन लाग्नुपर्छः उपमेयर लामा

महिला मिलन सहकारीको कर्मचारी दिपेश अधिकारीलाई सम्मानपत्र प्रदान गर्दै हेटौंडाकी उपमेयर मिना लामा

हेटौंडाः महिला मिलन बचत तथा ऋण सहकारी संस्थाले बिहीबार २१ औं वार्षिक साधारणसभा गरेको छ । साधारणसभाको उद्घाटन गर्दै हेटौंडा उपमहागनरपालिकाकी उपमेयर मिना कुमारी लामाले ठुलो संख्यामा महिलालाई समेटेर सहकारी संचालन गरेकोमा खुशि व्यक्त गर्नुभएको छ । उहाँले महिलाहरुलाई उत्पादनसँग जोडेर सहकारीले काम गर्नुपर्ने बताउनुभयो । महिलाहरुको ठुलो नेतृत्व गरेको सहकारी भोलिका दिनमा राष्ट्रिय स्तरको सहकारी बन्न सक्ने बताउनुभयो । महिलाहरुलाई सहकारीमा जोडेर उनीहरुको आर्थिक अवस्था परिवर्तन गर्न सक्नुपर्ने भन्दै यस्तो सहकारीलाई राष्ट्रियस्तरमा चिनाउनुपर्ने उपमेयर लामाले बताउनुभयो । उहाँले सहकारीलाई सिस्टममा चलाउनुपर्ने बताउनुभयो । पदमपोखरीको कुनै पनि कार्यमा अहिले महिलाहरुको अग्रणी भूमिका पाएको भन्दै महिलाहरुलाई सहकारीमा जोडेर उनीहरुको आर्थिक अवस्था सबल बनाउन सहकारी लाग्नुपर्ने उपमेयर लामाले बताउनुभयो ।

हेटौंडा उपमहानगरमा पनि सहकारीलाई कसरी अघि लैजाने भनेर छलफल चलिरहेको जानकारी उहाँले गराउनुभयो । हाल सहकारीको ५२ सय ७८ शेयर सदस्य रहेको छ । सहकारीले गत वर्ष ५६ करोड कुल कारोबार गर्दे १ करोड १७ लाख नाफा गर्न सफल भएको छ । यस्तै आगामी आर्थिक वर्षमा ६२ करोड कारोबार गर्ने र १ करोड ४० लाख नाफा गर्ने लक्ष्य राखेको महिला मिलन सहकारीकी अध्यक्ष विष्णुमाया लामाले बताउनुभयो । सहकारीको संस्थापक अध्यक्ष सुकुमाया थिङले २ दशक अघि विरुवा रोपेको सहकारी अहिले धेरै फैलिएको बताउनुभयो । उहाँले अहिले महिला मिलनको सदस्य भनेर देश विदेशसमा समेत चिनिएको भन्दै पुस्तौपुस्तासम्म सहकारी यसरी नै अघि बढ्नुपर्ने बताउनुभयो । महिला मिलनले अहिले ४० लाखसम्म शेयरसदस्यलाई ऋण लगानी गर्दै आएको छ । १५ दिनअघि देखि समूहतगत रुपमा गएर छलफल गरेको सहकारीले बिहीबार कार्यालयमा कोभिडको कारण न्यून सदस्यहरुको उपस्थितिमा साधारणसभा गरेको हो । सहकारीले आफ्नो सदस्यहरुलाई जुम मार्फत जोडेको थियो ।

सहकारीले आफ्नो वार्षिक साधारणसभामा कर्मचारी दिपेश अधिकारीलाई सम्मान गरेको छ । यस्तै शेयर सदस्यहरु तिर्थ कुमारी नेपाल, शान्ति माया हिडडुङ र हिरामाया वाइबालाई सम्मान गरेको छ । त्यस्तै पत्रकार निशा गुरुङलाई पनि सहकारीले सम्मान गरेको छ । कार्यक्रममा हेटौंडा–१२ का वडाअध्यक्ष ललित घलान, हेटौंडा–१३ को वडाअध्यक्ष मनोक वाइबा लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version