हेटौंडाः मकवानपुर प्रहरीले ५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरको विभिन्न मितिको फैसलाले जरिवाना भुक्तानी र कैद तोकेकामा फरार रहेका ५ जनालाई सोमबार विभिन्न फरक–फरक स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।
जिल्ला अदातल मकवानपुरको २०७७ पुस २३ गतेको फैसलाले वन मुद्दामा १२ हजार ५०० रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी फरार प्रतिवादी हेटौंडा–१८ को युवराज कुमार शाहलाई पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले सोमबार हेटौंडा–१० बाट पक्राउ गरेको हो । पक्राउ परेको शाहलाई उक्त जरिवाना भुक्तान गर्नका लागी जिल्ला अदालत मकवानपुर पठाईएको प्रहरीले जनाएको छ ।
यस्तै प्रहरीले जिल्ला अदालत मकवानपुरको २०६५ भदौ २४ गतेको फैसलाले गाली बेज्जती मुद्दाका फरार प्रतिवादीहरु हेटौंडा–३ का ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोपी बहादुर सुनार, विजय बहादुर सुनार, भीम बहादुर सुनार र कृष्ण बहादुर सुनार रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले सोमबार हेटौंडा–३ बाटै पक्राउ गरेका हुन् । पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागी जिल्ला अदालत मकवानपुर पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।