हेटौंडाः नेपाली कांग्रेसको जिल्ला निर्वाचन समिति मकवानपुरले गएको भदौ २० गते भएको वडा तहको अधिवेशनबाट निर्वाचित भएका क्षेत्रीय प्रतिनिधिहरुको नामावली उपलब्ध गराएको छ । आइतबार कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा सहायक निर्वाचन अधिकृतहरु रामकुमार अधिकारी, कृष्ण न्यौपाने र राजबाबु पहाडीले उपसभापति बिष्णु लामिछाने, प्रवक्ता प्रदीप कोइराला र अन्य पदाधिकारीसमक्ष सो नामावली उपलब्ध गराइएको हो । नामावली बुझ्दै उपसभापति लामिछानेले निर्वाचित सबैलाई बधाई दिँदै वडा तहको अधिवेशन सम्पन्न गर्न भूमिका निर्वाह गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।

कांग्रेस मकवानपुरको १०२ वटा वडाबाट कुल १ हजार ८ सय ३४ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । जसमध्ये १०२ वडाका सभापति स्वत क्षेत्रीय प्रतिनिधि हुने प्रावधान रहेको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडाबाट कूल ४ सय २० जना र थाहा नगरपालिकाका १२ वडाबाट १९८ जना निर्वाचित भएका छन् । त्यस्तै ८ वटा गाउँपालिकाका ७१ वटा वडाबाट कूल १ हजार २ सय १६ जना निर्वाचित भएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।

गाउँपालिकाबाट निर्वाचित हुनेहरुमा क्रमशः मकवानपुरगढी १ सय ३७, राक्सिराङ, १ सय ५४, कैलाश १ सय ७९, ईन्द्रसरोवर ७८, भीमफेदी १ सय ५७, बकैया १ सय ९४, बागमती १ सय ५४ र मनहरी १६३ जना रहेका छन् । कुल नामावलीमा मकवानपुर सभापति, संघीय सभापतिसहित करिब ७ जना क्षेत्रीय प्रतिनिधि थप हुने कांग्रेस मकवानपुरले जनाएको छ ।