एकदिन अकबरले बीरबललाई भने,“हे बीरबल तिम्रो हिन्दु ग्रन्थमा मैले एउटा कथा पढेको थिए । एकपटक तिम्रो भगवान् बिष्णुले आफ्नो हात्ती रोएको सुनेछन् र उद्धार गर्न आफै कुदेछन् । के ती बिष्णुका सहयोगीहरु छैनन् ? किन आफैं गए ? जवाफ दिन सक्छौ ?”

अकबरले हिन्दु ग्रन्थको कुरा झिकेर प्रश्न गरेपछि वीरबल पनि राम्रैसँग जवाफ दिने विचार गर्न थाले ।
“सम्राटयसको जवाफ आज होइन दुईचार दिनमै दिउँला हुन्छ ?” वीरबलले अनुमति मागे । अकबरले पनि ‘हुन्छ’ भनिदिए । वीरबलले अकबरलाई राम्रै पाठ पढाउने सुर गरे । उनले अकबरको नातिजस्तै मैनको मोडल बनाउन लगाए । कपडा पनि नातिकै जस्तो लगाउन लगाए । जसले बनायो उसैलाई लिएर गए र पोखरीमा फाल्न लगाए । जसले पोखरीमा फाल्यो ऊ कतै बसेर चिच्याउन थाल्यो,“लौ न नाति राजकुमार त पानीमा, राजकुमार त पानीमा ।” अकबरले आवाज सुने र पोखरीमा हेरे । हुबहु नातिको सबै कुरा । “ला नाति पानीमा डुब्यो” भन्दै अकबर पानीमा हाम फाले । वीरबल पोखरी कै छेउमा थिए । जब अकबरले त्यो पुतला रहेछ भनेर थाहा पाए तब उनको अनुहार बद्लियो र लामो सास ताने । पोखरीको डिलमा बसिरहेका वीरबलले अकबरलाई हात दिएर बाहिर निकाले ।

“सम्राट अकबरहजुरका त्यतिका सहयोगी छन्, नोकरचाकर, सेना, साराका सारा किन आफैं पोखरीमा हामफाल्नुभएको हँ ?”

“ए यो सब नाटक तिमीले गरेका रहेछ्यौ । ठिक छ मैले सोधेको प्रश्नको उत्तर तिमीले मैबाट निकाल्यौ, माने तिमीलाई ।” अकबरले हास्दै वीरबलको पिठिउँमा धाप मारे ।

“ बिष्णु भगवान किन हात्तीको उद्धार गर्न आफैं गए भन्ने कुराको जवाफ मिलेको हो त सम्राट् ?”
अकबरले टाउको हल्लाए र त्यहाँ हाँसोको फोहोरा छुट्यो ।