रक्तदान गर्दै रक्तदाताहरु ।

हेटौंडाः शनिबार हेटौंडामा ४१ जनाले रक्तदान गरेका छन् । मकवानपुर क्योकुशिन कराँते संघ बालकुमारीको आयोजनामा भएको रक्तदान कार्यक्रममा खेल क्षेत्रका पदाधिकारी, खेलाडीहरुसहित ४१ जनाले रक्तदान गरेका हुन् ।

रक्तसंचार केन्द्र हेटौंडा शाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४ जना महिला र ३७ जना पुरुषले रक्तदान गरेको शाखा प्रमुख टंक प्रसाद दाहालले जानकारी दिनुभयो । पछिल्लो केही दिनयता रक्तदानको कार्यक्रमहरु भएका कारण हेटौंडामा रगतको अभाव नहुने उहाँको भनाई छ । साथै चितवन जिल्लामा रगतको अभाव रहेको जानकारी आएकाले हेटौंडाबाट रगत पठाउने तयारी भइरहेको समेत उहाँले बताउनुभयो ।

मकवानपुर क्योकुशिन कराँते संघ बालकुमारीका अध्यक्ष बद्रीनाथ न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो । कोरोना संक्रमणको समयमा रगतको अभाव हुन नदिनका लागि साथै खेलकुद क्षेत्रमा क्रियाशिल संघसंस्थाहरु खेलकुदका साथै समाजसेवाको कार्यमा पनि अग्रसर छन् भन्ने अवगत गराउन रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।