कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको मकवानपुरका विद्यालयहरु खुल्ने संकेत देखिएको छ । कोभिड संकट व्यवस्थापन समिति मकवानपुरले स्थानीय तहको निगरानी रहने गरी अभिभावकको सहमतिमा विद्यालय सञ्चालन गर्न सकिने निर्णय गरेपछि अब लामो समयदेखि बन्द भएका शैक्षिक संस्थाहरु सञ्चालन हुने भएका छन् । तर हेटौंडामा भने अझै पनि जोखिम उच्च रहेको भन्दै विद्यालय सञ्चालन गर्ने विषयमा अध्ययन गर्न गठन भएको कार्यदलको सुझावलाई भने बिर्सन हुँदैन । संक्रमण दर कम भएको छ, तर जोखिम पूर्णरुपमा अन्त्य भएको छैन । आवश्यकताले विद्यालय सञ्चालन गर्दा जोखिमबाट उनीहरुलाई जोगाउनु मुख्य चुनौती विद्यालयहरुको हुनेछ । यस विषयमा स्थानीय प्रशासन र जनप्रतिनिधिको भूमिका पनि महत्वपूर्ण हुनेछ ।

लामो समयदेखि घरमै रमाउँदा बालबालिकामा अध्ययनप्रतिको रुचि कम हुँदै गएको मात्र हैन कि, मानसिक समस्या थपिने जोखिम बढ्दै गएपछि विद्यालय सञ्चालन गर्नु सबै पक्षका लागि जरुरी हो । जोखिमको अवस्थामा विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पालना महत्वपूर्ण पक्ष हो । अभिभाव, बालबालिकादेखि विद्यालय परिवार नै स्वास्थ्य मापदण्डप्रति सचेत नहुने हो भने महामारीको केन्द्र विद्यालयहरु बन्ने खतरा पनि छ । यसका लागि सरकारले गतवर्ष नै जारी गरेको विद्यालय सिकाई निर्देशिकाको मापदण्डअनुसार कक्षाकोठाको व्यवस्थापन हुनैपर्दछ । विद्यार्थीलाई एकै पटक बोलाएर भिड गर्नुभन्दा सिफ्टअनुसार समय फरक गर्नेदेखि बारअनुसार कक्षा सञ्चालन गर्ने विधिको प्रयोग गरेमा भिडभाड कम हुनसक्छ ।

मकवानपुरका विद्यालयहरु सञ्चालन किन भएनन् भनेर पटकपटक प्रश्न उठ्दै आएको हो । समाजका सम्पूर्ण पक्ष सहजरुपमा सञ्चालन हुँदा विद्यालयहरुलाई मात्र बन्द गरिएको गुनासो थियो । तर शैक्षिक क्षेत्र भन्नासाथ बालबालिका जोडिने गर्दछन् । कोरोना महामारीको जोखिम उमेर समूहको यो वर्गलाई जोगाउनका लागि भिडबाट टाडा राख्नु नै पहिलो उपाय हो । त्यसैले लकडान खुलाउँदा सबैभन्दा पछि सञ्चालन गरिने क्षेत्रमा विद्यालय राख्ने गरिएको हो । सरकारले १८ वर्ष माथिकालाई कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । तर बालबालिकाका लागि अझै कोरोनाविरुद्धको खोप आइसकेको छैन । त्यसैले सानो उमेर समूहका विद्यार्थी सहभागी हुने शैक्षिक क्षेत्र बन्द गर्नुपर्ने अवस्था थियो ।

विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुले स्वास्थ्य मापदण्ड पालना गरी विद्यालयको जिम्मेवारी रहनेगरी विद्यालय सञ्चालन गर्नसक्ने आशयको प्रतिवेदन बुझाएपछि विद्यालयहरु सञ्चालनको तयारीमा छन् । विद्यालय नपठाउँदा नानीबाबुहरु घरमा बस्दा अध्ययन बिग्रने, पठाउँदा फेरि जोखिम बढ्ने भन्दै अभिभावकहरु दोहोरो चिन्तामा परेका छन् । अभिभावकको चिन्तालाई विद्यालय प्रशासनले निवारण गर्न सक्नुपर्दछ । स्थानीय तहहरुले पनि समन्वय गर्ने र नियमित विद्यालयको अनुगमन गर्न आवश्यक छ । सञ्चालनमा आएका विद्यालयहरुले स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेका छन् वा छैनन् भन्ने कुराको परीक्षण गरिनुपर्छ । तबमात्र अभिभावकले आफ्ना बालबालिका विद्यालय पठाउन सक्नेछन् । विद्यालय सञ्चालन गर्न आवश्यक हुँदाहुँदै पनि होशियारी नगरिए जोखिम फेरि बढ्नेछ ।