हेटौंडाः नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको भौतिक उपस्थितिमा हुने बैठक मकवानपुरमा आज मंगलबारबाट हुने भएको छ । पत्रकार महासंघको निर्वाचनपछि पहिलो पटक भौतिक उपस्थितिमा हुन लागेको केन्द्रीय समितिको बैठक मकवानपुरको दामनमा हुने भएको हो ।
भाद्र ८, ९ र १० गते दामनमा समितिको बैठक हुने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्काले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघको आगामी ३ वर्षको कार्ययोजना मकवानपुरमा हुने बैठकले निर्णय गर्नेछ । मकवानपुरका लागि यो अवसर रहेको उहाँले बताउनुभयो ।
पत्रकार महासंघको केन्द्रीय समितिलाई पत्रकार महासंघ मकवानपुर शाखाले आतिथ्यता गर्ने भएको छ । बैठकमा महासंघ केन्द्रीय समितिका ५२ जना पदाधिकारी र ३ जना सल्लाहकार गरी ५५ जना र मकवानपुरका केही पत्रकारसहित ६० जनाको सहभागिता हुने जनाइएको छ ।
पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतमले केन्द्रीय समितिको बैठकमा छोटो प्रस्तुतिकरण गर्नुहुनेछ । उहाँले यसबारेमा जिल्लाका कस्ता विषय उठान गर्नु आवश्यक छ भनेर पत्रकार महासंघ मकवानपुरको सभाहलमा सोमबार छलफल गर्नुभएको छ । उहाँले प्राप्त सल्लाह सुझावअनुसार प्रस्तुति दिने बताउनुभयो ।
यसैगरी भाद्र १० गते नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोखरेल र सचिव हेटौंडामा आए समितिको निर्णयहरु सार्वजनिक गर्नेबारे समन्वय भइरहेको समेत अध्यक्ष गौतमले जानकारी दिनुभयो । उहाँले अतिथिहरुको स्वागत तथा व्यवस्थापन गर्न मकवानपुर शाखाका पदाधिकारी खटिएको भन्दै कोरोनाको समयमा जनस्वास्थ्यको मापदण्ड पालना गरेर बैठक सञ्चालन हुने बताउनुभयो ।