हेटौंडाः हेटौंडाको मध्य बजारमा अवस्थित अखण्ड हरिकीर्तन मन्दिरको ४१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ४० वर्षअघि श्रावण शुक्ल (पुत्रदा) एकादशीको दिन स्थापना भएको मन्दिरमा अखण्डरुपमा हरिनाम संकीर्तन र हवन, श्राद्ध, पूजा, आरती एवम् विभिन्न पर्वमा विशेष कार्यक्रम हुदैँ आएको छ । मन्दिरले झुला रथयात्रा, छपन्न भोग अर्पण, विग्रहपूजा समेत गर्दै आएको छ ।

वार्षिक सभाको अवसरमा संस्थाका प्रधान संरक्षक एवम् जानकी जीवन कुञ्जका अजितप्रसाद गौतमले भर्चुअलरुपमा मन्तव्य व्यक्त गर्नुभएको थियो । साधारणसभामा अखण्ड हरिकीर्तन मन्दिरको २९ लाख ३९ हजारको अक्षयकोषसहित ३५ लाख ८८ हजार सञ्चित रहेको जानकारी दिइयो । गत आर्थिक वर्षमा भएको ५ लाख ६५ हजारको खर्च विवरण तथा चालु आर्थिक वर्षका लागि १३ लाख ३ हजारको अनुमानित आयव्यय साधारणसभामा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा संस्थाका द्वितीय उपाध्यक्ष सीता पौडेल तथा विशेष सल्लाहकार अल्मण पौडेलसमेतले स्वर्गीय चित्रलेखा र बाबुराम घलेको स्मृतिमा ५ लाख रुपैयाँको अक्षयकोष मन्दिरको नाममा समर्पण गर्नुभएको थियो । उहाँहरु दुुबै जनालाई संस्थाले फूलमाला, रामनामांकित उत्तरीय वस्त्रद्वारा सम्मानका साथ हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
कार्यक्रममा संस्थाका सल्लाहकार, शुुभचिन्तकहरुबाट शुुभकामना मन्तव्य व्यक्त गरिएको थियो ।