बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेल

हेटौंडाः हेटौंडाको विकास नरोकिने बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभएको छ । बुधबार मुख्यमन्त्री पदबाट राजिनामा दिएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउनुभएको पौडेलले आफु पदमा भए पनि नभए पनि हेटौंडाको विकास नरोकिने बताउनुभयो ।

एमालेको नेतृत्वले नै सरकार चलाउने भएकोले उहाँले प्रदेश राजधानी भएसँगै भएको विकासका कामहरु नरोकिने बताउनुभयो । बिहीबार आफ्नै निवासमा उहाँले पत्रकारसँग कुरा गर्दै राजधानी हेटौंडा ल्याउन, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालन गर्न, गौरिटार रंगशाला निर्माण कार्य गर्ने जस्ता विकासका कामहरु सुरुवात भइसकेको बताउनुभयो ।

करिब साढे ३ वर्ष प्रदेशको नेतृत्व गर्दा आफुले धेरै काम गर्न सफल भएको भन्दै पूर्व मुख्यमन्त्री पौडेलले प्रदेशको १३ जिल्लामा विकासको लहर छाएको बताउनुभयो । विकासका कामहरु अब नरोकिने पनि उहाँले बताउनुभयो ।