बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेल

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको सोमबार उद्घाटन भएको छ । सोमबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले साढे ३ तल्ले भवनको उद्घाटन गर्नुभएको हो । मुख्यमन्त्री डोरमणि पौडेलले भीमफेदी गाउँपालिकाको भवनको उद्घाटन गर्नुहुँदै भीमफेदी लाई वल्ड सिटीको रुपमा विकास गरिने बताउनुभयो । भीमफेदीको इतिहास, पुरात्विक महत्वलाई बचाउन पुरानो सहरको रुपमा विकास गर्ने बताउनुभएको हो । उहाँले भीमफेदी गाउँपालिकामा सक्षम नेतृत्वलाई जिताएकै कारण विकास भएको बताउनुभयो । बागमती प्रदेश सरकारले भीमफेदी गाउँपालिकाको लागि साना ठुला गरी ५१ वटा योजनाहरु पारेको मुख्यमन्त्री पौडेलले जानकारी गराउनुभयो ।

यस्तै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले ८ गाउँपालिका मध्ये आफ्नै व्यवस्थित भवन निर्माण सम्पन्न गर्ने पहिलो गाउँपालिकाको रुपमा भीमफेदी रहेको भन्दै भवन अनुसारको सेवा प्रवाह चुस्त दिनुपर्ने बताउनुभयो ।

कुल ४२ कोठा भएको गाउँपालिकालको नवनिर्मित भवन १७ मिटर चौडाई र ३५ मिटरको लम्बाइमा बनेको छ । जिसस मकवानपुरले ८ कट्ठा ८ रोपनि जग्गा उपलब्ध गराएर भवनको निर्माण काम सुरुवात २ वर्षअघि भएको थियो । लागत अनुमान ७ करोड १ लाख ४३ हजार तयार भएपनि सार्वजनिक खरिद ऐन बमोजिक ठेक्का लगाउँदा ४ करोड १२ लाख ८२ हजार ७० रुपैयाँ २ पैसामा २०७६ साल साउन १४ गते गाउँपालिकाले ठेकेदार कम्पनिसँग सम्झौता गरेको थियो । ठेक्का लिएको २ वर्षको अवधिमा सुविधासम्पन्न भवनको निर्माण भएको हो ।

भीमफेदीको प्रशासकिय भवनको लागि जग्गा मात्र उपलब्ध नगराएर जिल्ला समन्वय समितिले मौज्दात कोषबााट २ करोड रुपैयाँ समेत प्रदान गरेको थियो । यस्तै गाउँपालिकाको आन्तरिक स्रोतबाट, संघीय सरकारको समपुरक अनुदान केही प्राप्त भएर भवनको काम सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन कुँवरले बताउनुभयो । अब भवनको पर्खाल, भवन भित्रको केही निर्माण कार्य गर्न बाँकी रहेको र त्यो छिट्टै सम्पन्न हुने प्रमुख प्रशासकिय अधिकृत जीवन कुँवले बताउनुभयो । भीमफेदी गाउँपालिका अध्यक्ष हिद्म लामालको सभाअध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा भूमि सम्बन्धी समस्या आयोग मकावनपुरका अध्यक्ष रामेश्वर राना, भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना लगायतको उपस्थिति रहेको थियो ।