अन्तरक्रियामा सहभागीहरु ।

हेटौंडाः अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को अवसरमा हेटौंडामा भएको शिक्षामा युवा सहभागिता विषयक अन्तरक्रियामा सहभागीहरुले शिक्षाको गुणस्तर मापन हुन नसकेको गुनासो गरेका छन् । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सोमबार भएको कार्यक्रममा सहभागीहरुले प्रदेशका सबै स्थानमा अध्यापन हुने शिक्षामा एकरुपता नभएको र मावि तहसम्म कै शिक्षाको पनि गुणस्तर मापन के कति छ भनेर जाँच गर्न नसकिएको बताएका छन् ।

बागमती प्रदेश युवा परिषद् तथा शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल, जिल्ला सञ्जाल मकवानपुरको संयुक्त आयोजना तथा गैरसरकारी संस्था महासंघ बागमती प्रदेश समितिको समन्वयमा शिक्षामा युवाहरुको भूमिका विषयक अन्तरक्रियामा मकवानपुरगढी गाउँपालिका वडा नं. ३ का कमल फुयाँलले शिक्षाको विकास गर्ने भन्दै अनिवार्य रुपमा सबैलाई अङ्ग्रेजी माध्यमबाट पढ्नुपर्छ भन्ने बाध्यात्मक अवस्था सिर्जना गर्न नहुने बताउनुभयो ।

सबै विद्यार्थीले अङ्ग्रेजी नबुझ्ने भएकाले उनीहरुलाई जुन भाषामा सजिलो लाग्छ त्यही भाषामा अध्ययन गर्ने व्यवस्था हुनुपर्ने बताउनुभयो । यस्तै सञ्चारकर्मी अमृत चिमरियाले हाल वैकल्पिक शिक्षाको रुपमा अनलाइनमार्फत अध्यापन गराइरहँदा ग्रामिण भेगमा रहेका विद्यार्थीहरु भने शिक्षाबाट बञ्चित हुनुपरेको जानकारी दिनुभयो । अनलाइन माध्यमको कारण शहरी क्षेत्र र ग्रामिण क्षेत्रमा एकरुपता आउन नसकेको तथा अनलाइन शिक्षाले विभेद उत्पन्न गर्न सक्ने उहाँको भनाइ रहेको छ ।

शिक्षाको विकास गरिरहँदा हाल विद्यार्थीहरुलाई नैतिक शिक्षाको बारेमा अध्ययन नगराइँदा उनीहरुमा नैतिक ज्ञानको कमी आउन सक्ने मनहरीकी सविना ओलीले बताउनुभयो । नैतिक शिक्षाको अभावमा समाजमा हत्या, हिंसा, बलात्कार लगायतका घटना बढ्दै गएको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । एक बर्षसम्म पढेको कुरालाई ३ घण्टाको परीक्षामा मापन गरी शिक्षाको गुणस्तर मापन गर्न नसकिने कुरामा उहाँले जोड दिनुभएको छ । यस्तै युवाहरुलाई लागूऔषधको दूव्र्यसनीबाट जोगाउन उचित शिक्षा प्रदान गर्नुपर्ने, विद्यार्थीबाट नै युवा उत्पादन हुने भएकाले असल युवा उत्पादन गर्न असल शिक्षामा ध्यान दिनुपर्ने तथा युवा र बाल सञ्जाललाई समेत एकआपसमा जोड्नुपर्ने जस्ता कुराहरु सिविन नेपालका झबिन्द्र ज्ञवालीले सुझाव राख्नुभएको थियो ।

कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, बागमती प्रदेशका संयोजक प्रकाश खतिवडाले युवा र शिक्षाको विषयमा सहजीकरण गर्नुभएको थियो । उहाँले अन्तरक्रियामा आएका सुझावहरुलाई समेटेर नै प्रदेशको शिक्षा नीति बनाउन सहज हुने बताउनुभयो । कार्यक्रममा अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा प्रदेश स्तरमा युवाहरुको परिभाषा, नेपालको संविधान २०७२ मा युवाहरुको अवस्था, शिक्षाको आवश्यकता, युवा र शिक्षाको अन्तरसम्बन्ध, शिक्षाको अधिकार, सुनिश्चितता, मान्यता लगायत बागमती प्रदेश सरकारले शिक्षाका लागि गरेका राम्रा कामहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले प्रदेश युवा परिषद् राज्यले लिएको नीति अनुसार तिव्र रुपमा अघि बढ्ने बताउनुभएको छ । प्रदेश सरकारले ऐन निर्माण गरी प्रमाणीकरण गरेर युवा परिषद्को पदाधिकारी नियुक्त र कार्यालय स्थापना गरिसकेकोले अब बागमती प्रदेश युवा परिषद् राज्यले लिएको नीति अनुसार तिव्र रुपमा अघि बढ्ने उहाँले बताउनुभएको हो । उहाँले युवालाई शिक्षा, रोजगारी र उत्पादनसँग जोड्न प्रदेश युवा परिषद्ले तीनै तहका सरकारसँग समन्वय गर्ने बताउनुभयो । युवाहरुका क्षेत्रमा देखिएका समस्याहरुलाई युवाहरुबाट सुझाव सङ्कलन गर्दै समस्या समाधान गर्न युवा परिषद्ले भूमिका निर्वाह गर्ने उपाध्यक्ष चौलागाईको भनाइ रहेको थियो ।

शिक्षाका लागि राष्ट्रिय अभियान मकवानपुरका संयोजक बुद्धवीर लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बागमती प्रदेश युवा परिषद्का निमित्त कार्यालय प्रमुख रमेश घिमिरे, जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष शिवहरी दाहालले मन्तव्य व्यक्त गर्नुभएको थियो भने विभिन्न संघ संस्थाका प्रतिनिधि तथा युवाहरुको उपस्थिति रहेको थियो ।