स्वतन्त्र पत्रकार संघ मकवानपुरका नवनिर्वाचित पदाधिकारीसहित सामूहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः स्वतन्त्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा गोकुल अधिकारी चयन हुनुभएको छ । शनिबार हेटौंडामा भएको तेश्रो अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा प्रेमकला पौडेल, सचिवमा प्रमोद अर्याल, कोषाध्यक्षमा रणधीर साह र सदस्यमा जमुना थिङ चयन भएका छन् । २ जना सदस्य पछि चयन गरिने अध्यक्ष अधिकारीले जानकारी दिनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष अधिकारीले संघलाई चलायमान बनाउन र व्यावसायिक पत्रकारको क्षमता विकासमा सक्रिय गराउने बताउनुभएको छ । अधिवेशनबाट केन्द्रीय परिषद् सदस्यमा सुरेश श्रेष्ठ र आदर्श थोकर चयन भएका छन् भने प्रदेश परिषद् सदस्यमा मेनुका बल, रबिन्द्र वाईबा र दीक्षान्त खड्का चयन भएका छन् । स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष सुरेश श्रेष्ठको अध्यक्षता, स्वतन्त्र पत्रकार संघ राष्ट्रिय सल्लाहकार नवराज पहाडीको प्रमुख आतिथ्य तथा स्वतन्त्र पत्रकार संघ राष्ट्रिय कोषाध्यक्ष शालिग्राम पाण्डेको विशिष्ट आतिथ्यमा अधिवेशनको उद्घाटन कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्नुहुँदै राष्ट्रिय सल्लाहकार पहाडीले पत्रकारहरु स्वतन्त्र हुनु पर्ने बताउनुभयो । ‘पत्रकारिता पेशा आफैंमा स्वतन्त्र पेशा हो,’ उहाँले भन्नुभयो, ‘तर, पत्रकारहरु पनि अहिले विभिन्न दलहरुसँग आवद्ध छन् । दलीय आवद्धताले पत्रकारिता पेशा स्वतन्त्र हुन सक्दैन ।’ यस्तै विशिष्ट अतिथि राष्ट्रिय कोषाध्यक्ष पाण्डेले पत्रकारिता पेशा चुनैतिपूर्ण रहेको भन्दै क्षमतावान मान्छेहरुलाई पत्रकारिता पेशामा टिक्न गाह्रो नहुने बताउनुभयो ।