पाना पुस्तकालय उद्धाटनको क्रममा पुस्तक हस्तान्तरण पछि सहयोगी दाताहरुको नामावली प्रदान गरिदैँ ।

निजगढ (बारा)ः पठन संस्कृतिको विकास गर्ने उद्देश्यले स्थापित पुस्तकालय अभियान समूह मकवानपुरको सहयोगमा २ नम्बर प्रदेशको बारा जिल्लाको निजगढ नगरपालिका–६, सडकटोलमा पुस्तकालय स्थापना गरिएको छ । शनिबार एक कार्यक्रमका बीच पूर्वमन्त्री पुरुषोत्तम पौडेलले पुस्तकालयको उद्घाटन गर्नुभयो । पुस्तकालय स्थापनाका लागि पुस्तकालय अभियान समूह मकवानपुरले ५० हजार रुपैयाँ बराबरका १ सय ५३ थान पुस्तक सहयोग गरेको हो ।

पुस्तकालय अभियान समूह मकवानपुरको सहयोगमा स्थापित पाना पुस्तकालय सातौं पुस्तकालय हो । पाना पुस्तकालय स्थानीय परिवर्तनका लागि युवा परिषद् नामक संस्थाले सञ्चालन तथा व्यवस्थापन गर्नेछ । पाना पुस्तकालय स्थापनाका लागि निजगढ–६ का अनन्त भण्डारी, प्रकाश घिमिरे, रोशन तिमल्सिना, प्रभात तिमल्सिना, विनोद घिमिरे, निजगढ–९ का मणि घिमिरे, राजेन्द्र आचार्य, मकवानपुरको बकैया गाउँपालिकाका सन्तोष घिमिरे, मकवानपुरगढी गाउँपालिकाका प्रभात बञ्जारा र हेटौंडा–५ का प्रद्युम्न आचार्यले जनही ५ हजार रुपैयाँका दरले ५० हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

यसअघि मकवानपुर जिल्लामा पुस्तकालय अभियान समूहको सहयोगमा ६ वटा पुस्तकालय स्थापना भइसकेको छ । पुस्तकालय अभियान समूहले जिल्ला बाहिर पहिलो पुस्तकालय स्थापना गरेको हो । पुस्तकालय अभियान बारा जिल्लामा पनि विस्तार हुने अपेक्षासहित सहयोग गरिएको पुस्तकालय अभियान समूहका सदस्य सुरेश श्रेष्ठले जानकारी दिनुभएको छ । बारा जिल्लाको जीतपुर–सिमरा उपहानगरपालिका र फेटा गाउँपालिकामा पनि पुस्तकालय स्थापनाको तयारी भइरहेको श्रेष्ठको भनाइ छ ।

पाना पुस्तकालयको उद्घाटन गर्नुहुँदै संघीय सरकारका पूर्वमन्त्री पुरुषोत्तम पौडेलले समाजमा उल्लेखनीय कार्य गर्न व्यक्तिमा ज्ञान आवश्यक हुने बताउनुभयो । पुस्तकालय अभियानको प्रशंसा गर्नुहुँदै पूर्वमन्त्री पौडेलले पुस्तकालयको आवश्यकतालाई बुझेर, बुझाएर जिल्लाका अन्य स्थानमा पनि पुस्तकालय स्थापना गर्नुपर्ने सुझाव दिनुभयो । आफूले ज्ञानका लागि पर्याप्त पुस्तक अध्ययन गरेको उल्लेख गर्नुहुँदै उहाँले सामयानुकुल पुस्तकालयलाई विद्युतीय पुस्तकालयको स्वरुपमा विकसित गर्दै लैजानुपर्ने सुझाव दिनुभयो । ज्ञानलाई समुदाय र जीवनसँग जोड्न आवश्यक भएको पनि पौडेलले बताउनुभयो ।

पुस्तकालय उद्घाटन कार्यक्रममा निजगढ नगरपालिकाकी उपमेयर लिलादेवी लामिछानेले पुस्तकालय स्थापना भएकोमा खुसी व्यक्त गर्नुहुँदै पुस्तकालयलाई व्यवस्थापन र नियमित सञ्चालनमा पालिकाले सहयोग गर्ने बताउनुभयो । निजगढ नगरपालिकाको ६ नम्बर वडा अध्यक्ष कुशबहादुर थापाले वडाले सबै क्षेत्रको विकासमा ध्यान दिइरहेको बताउनुभयो । पुस्तकालय स्थापना तथा व्यवस्थापन गर्ने परिवर्तनका लागि युवा परिषद्का अध्यक्ष तारानाथ तिमल्सिनाले पुस्तकालय व्यवस्थित रुपमा सञ्चालन गर्ने बताउनुभयो । पुस्तकालयका लागि निजगढ–६ का स्थायीबासी प्रकाश नेपालले सात हजार रुपैयाँ बराबरको पुस्तक सहयोग गर्नुभएको छ ।