हेटौंडाः मकवानपुर जिल्लामा विभिन्न तहका २ सय ९१ शिक्षक दरबन्दी रिक्त रहेको छ । गत कात्तिकदेखि हालसम्म जिल्लामा २ सय ९१ जना शिक्षकको दरबन्दी रिक्त भएको हो ।

जिल्लामा स्वीकृत दरबन्दीमध्ये प्राथमिक तहमा २ सय ६३, निम्न माध्यमिक तहमा २५ र माध्यमिक तहमा ३ शिक्षकको दरबन्दी रिक्त रहेको शिक्षा विकास तथा समन्वय ईकाइ मकवानपुरका सूचना अधिकारी कृष्ण पौडेलले जानकारी दिनुुभयो । पौडेलका अनुसार हेटौंडा उपमहानगरपालिकामा १७, थाहा नगरपालिकामा ६०, बकैया गाउँपाकिलामा ३५, बागमती गाउँपालिकामा २४, मनहरी गाउँपालिकामा १२, राक्सिराङ गाउँपालिकामा ४८, भीमफेदी गाउँपालिकामा २१, मकवानपुरगढी गाउँपालिकामा १४, ईन्द्रसरोवर गाउँपालिकामा १९ र कैलाश गाउँपालिकामा ४१ शिक्षक दरबन्दी रिक्त रहेको छ ।

लामो समयदेखि शिक्षक सेवा आयोगमा अध्यक्षलगायत पदाधिकारी नियुक्ति नहुँदा जिल्लामा ठूलो संख्यामा शिक्षक दरबन्दी रिक्त रहेको थियो । सरकारले केही दिनअघि शिक्षक सेवा आयोगको पदाधिकारी नियुक्ति गरेसँगै रिक्त दरबन्दीमा स्थायी शिक्षक पदपूर्तिको प्रक्रिया सुरु भएको छ । यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरबाट रिक्त शिक्षक दरबन्दीको तथ्यांक माग गरेको छ ।

केन्द्रले गत आइतबार सूचना जारी गर्दै सम्बन्धित जिल्लाका रिक्त शिक्षक दरबन्दी विवरण पठाउन शिक्षा विकास तथा समन्वय ईकाइहरुलाई अनुरोध गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म रिक्त हुने तहगत शिक्षक दरबन्दीको विवरण पठाउन भनिएको छ । शिक्षक सेवा आयोगमार्फत् स्थायी नियुक्तिका लागि विज्ञापन गर्ने प्रयोजनका लागि रिक्त दरबन्दी विवरण माग भएकाले केन्द्रले विवरण पठाउन अनुरोध गरेको हो ।

जिल्लाका स्थानीय तहहरुको तहगतरुपमा रिक्त शिक्षक दरबन्दी विवरण एकीकृत गरी राख्न केन्द्रले अनुरोध गरेको छ । सोही रिक्त दरबन्दीमा स्थायी शिक्षक पदस्थापना हुनेसमेत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । रिक्त स्थायी दरबन्दी थप भएका उदयपुर, सिन्धुली, मकवानपुर, रोल्पा, दोलखा, नुवाकोट, धादिङ, नवलपरासी पूर्व, बाग्लुङ, जाजरकोट जिल्लाहरुको हकमा केन्द्रको पत्रअनुसारको विवरण पठाउँदाको मितिसम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट दरबन्दी थप भएमा र जिल्लाभित्रका मौजुदा स्थायी दरबन्दी रिक्त भएको विवरण पठाउन अनुरोध गरिएको छ ।