हेटौंडा–९ स्थित लामसुरे सहरी स्वास्थ्य केन्द्रमा भेरोसेल खोपको दोस्रो डोज लगाउन लामबद्व स्थानीयहरु ।

हेटौंडाः मकवानपुर जिल्लामा कोरोना भाइरस विरुद्धको दोस्रो डोजको खोप आज सोमबारबाट लगाउन सुरु गरिएको छ । मकवानपुर जिल्लाको १० वटै पालिकामा दोस्रो डोज लगाउन बाँकी रहेका २६ हजार जनालाई आज सोमबारबाट खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिनुभयो ।

जिल्लाको लागि आएको २६ हजार डोज खोप मध्ये हेटौंडा उपमहानगरपालिकाको लागि भने १० हजार डोज खोप छुट्याइएको छ । सोमबार बिहानबाट लगाउन सुरु गरिएकोमा हेटौंडा नगरभित्र ३ हजार भन्दा बढीलाई खोप लगाइसकेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

हेटौंडा नगरभित्रका १९ वटै वडामा लगाइनुपर्नेमा आज १८ वटा वडामा मात्र खोप लगाउन सुरु गरिएको छ । खोप कार्यक्रम नभएको हेटौंडा उपमहानगरपालिका वडा नं. १८ मा नियमित कार्यक्रम भएकाले आज नलगाइएको चौलागाईले जानकारी दिनुभयो । आज छुटेको उक्त वडामा भोली देखि खोप लगाउन सुरु गरिने छ ।