हेटौंडाः मकवानपुरमा अहिलेको देउवा सरकारले भूमि सम्बन्धी आयोग खोरेजी गरेसँगै किसानहरुको प्रतिनिधित्व गर्दे आएको अखिल नेपाल किसान महासंघ सडकमा उत्रिएको छ । आइतबार हेटौंडामा महासंघको आयोजनामा नेकपा एमालेको पार्टी कार्यालय देखि बुद्धचोकसम्म भूमिहिन, सुकुम्बासीलाई जग्गा दे, सम्पूर्ण शोषित पिडित किसानहरु एक हौं, विघटित आयोगलाई पुनर्वहाली गर, भूमिहिन सुकुम्बासीलाई पुर्जा वितरण गर, अव्यवस्थति बसोबासीलाई व्यवस्थित गर लगायतको नारा लगाएका थिए ।

सरकार विरुद्धको विरोध सभामा सरकारले आयोगको कामलाई अहिलेको अवस्थामा नल्याए शसक्त आन्दोलन गर्ने अखिल नेपाल किसान महासंघ मकवानपुरका अध्यक्ष विष्णु प्रसाद दंगालले बताउनुभयो । उहाँले भूमिहिन, सुकुम्बासीलाई जग्गाको पुर्जा वितरण गर्न आयोग पुनर्वहाली गर्नुपर्ने बताउनुभयो ।

मकवानपुर जिल्लामा मात्रै हालसम्म ४० हजार भूमिहिन तथा सुकुम्बासीहरुको लगत संकलन भएको थियो । वर्षौदेखि उनीहरुले जमिनको पुर्जा पाएका थिएनन् । अहिलेको देउवा सरकारले नागरिकको हक माथि लात हानेको उहाँले बताउनुभयो ।

अखिल नेपाल किसान महासंघ केन्द्रिय स्थायी कमिटी सदस्य सम्राट तुम्बाहाम्फेले असोजसम्म १५ हजारलाई लालपूर्जा बाड्ने तयारी अवस्थामा रहँदा सरकारले खारेजी गरेको बताउनुभयो । विगतमा धेरै सरकार बनेपनि ओलि सरकारले गम्भिरताको साथ लिएर लालपूर्जा बाड्न आयोग गठन गरेको थियो । देशैभर ११ लाख बढी सुकुम्बासीको लगत संकलन भएको भन्दै आयोग खारेजी गर्नु विकल्प नभएको बताउनुभयो । उहाँले आयोग खारेजीमा किसान महासंघले विभिन्न चरणको आन्दोलन गर्ने र पुनर्वहाली गर्न चर्को दबाब सिर्जना गर्ने बताउनुभयो ।