भूमिसम्बन्धी समस्या समाधान आयोग मकवानपुरको बार्षिक प्रगती विवरण प्रस्तुत गर्नुहुँदै आयोगका प्रमुख रामेश्वर राना ।

हेटौंडाः भूमिसम्बन्धी समस्या समाधान आयोग मकवानपुरले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका छन् । आयोगको मकवानपुर प्रमुख रामेश्वर रानाले आयोगको प्रगति विवरण सार्वजनिक गर्नुहुँदै मकवानपुर जिल्लामा ४० हजार ४ सय ६९ लगत संकलन भएको जानकारी दिनुभयो ।

भूमिहीन ४ हजार ५ सय २५ र अव्यवस्थित ३५ हजार ९ सय ४४ गरी ४० हजार ४ सय ६९ लगत संकलन गरिएको छ । भूमिसम्बन्धी समस्या समाधान गर्नका लागि आर्थिक वर्ष २०७७-०७८ मा २२ लाख बजेट विनियोजन भएकोमा ६० प्रतिशतमात्र आयोगले खर्च गरेको छ ।

तर, वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले केही दिनअघि भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो । आयोग खारेज भएको भन्दै मकवानपुर अध्यक्ष रानाले दुःख व्यक्त गर्नुभएको छ । रानाले भूमिहीन जनताका लागि सधैं साथ र सहयोग रहेको बताउनुभयो । विशेषगरी दलित र सुकुम्बासीको हितमा रहेर आयोगले काम गरेको उहाँले बताउनुभयो ।

जिल्लाको थाहा नगरपालिका, ईन्द्रसरोवर र भीमफेदी गाउँपालिकामा लागत संकलन कार्य अन्तिम चरणमा रहेको अध्यक्ष रानाले बताउनुभयो । विगतका आयोगका अधुरो अपुरो कामको सम्बन्धमा १ हजार २ सय ३६ निवेदन दर्ता भएकाले यसका लागि प्रक्रिया अगाडि बढिरहेको उहाँले बताउनुभयो । यसैक्रममा केही जग्गाधनी पूर्जा तत्काल वितरण गर्नसक्ने अवस्थामा तथा केही प्रक्रियाागत काम बाँकी रहेको बताउनुभयो ।

जिल्लाका १० वटा पालिकाहरुमध्ये ५ वटा पालिकाहरु मकवानपुरगढी, मनहरी, बागमती र बकैया गाउँपालिकामा लगत संकलन कार्य सम्पन्न भइसकेको अध्यक्ष रानाले बताउनुभयो । वडा तहमा प्रमाणिकरण तथा सार्वजनिक सुनुवाईको कार्य प्रारम्भ हुनुका साथै नाप नक्साको कामको सुरुवात भइरहेको उहाँले बताउनुभयो ।

अयोगले हालसम्म हेटौंडा उपमहानगरपालिकाका भूमिहीन ३ हजार १ सय २० र अव्यवस्थित बसोबासी ६ हजार ८ सय ११ गरी ९ हजार ९ सय ३१ लगत संकलन गरेको छ । मकवानपुरगढी गाउँपालिकाका भूमिहीन १ सय ८७ र अव्यवस्थित बसोबासी ३ हजार ९ सय २१ गरी ४ हजार १ सय ८ लगत संकलन गरिएको छ । यसैगरी मनहरी गाउँपालिकाका भूमिहीन ६ सय ८८ र अव्यवस्थित बसोबासी ७ हजार ४ सय ९२ गरी ८ हजार १ सय ८० लगत संकलन भएको आयोगले जानकारी दिएको छ । बागमती गाउँपालिकाका भूमिहीन ८० र अव्यवस्थित बसोबासी ७ हजार २० गरी ७ हजार एक सय लगत संकलन भएको छ । बकैया गाउँपालिकाका भूमिहीन ४ सय ५० र अव्यवस्थित बसोबासी १० हजार ७ सय गरी ११ हजार १ सय ५० लगत संकलन भएको छ । जसअनुसार सबैभन्दा कम मकवानपुरगढीबाट ४ हजार १ सय ८ र सबैभन्दा बढि बकैया गाउँपालिकाबाट ११ हजार १ सय ५० लागत संकलन भएका हुन् ।