कोरोना भाइरस संक्रमणको दर बढ्दै गएको जनाउँदै जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लामा साउन मसान्तसम्म निषेधाज्ञा कायम रहने आदेश जारी गरेको छ । साउन ३२ गतेसम्म निषेधाज्ञा रहनेछ । संक्रमण दर बढ्दै गएको उल्लेख गर्दै बजार खुल्ने समयमा पनि परिवर्तन गरिएको छ । महामारीमा नागरिकको जीउज्यानको रक्षा गर्ने पहिलो दायित्व सरकारको हो । त्यसैले उसले नागरिकहरुलाई महामारीबाट बच्नका लागि विभिन्न आदेश दिनसक्छ र दिँदै आएको छ । महामारीको अन्त्य निश्चित नभएपछि विकल्पको पनि खोजी आवश्यक छ । तर निषेधाज्ञा वा लकडाउनबाहेकको अर्को विकल्पको खोजी गरेको छैन । निषेधाज्ञा घोषणा गरेरमात्र कोरोनाबाट मानिसको पूर्ण सुरक्षा हुन नसक्ने कुरा विगत डेढ बर्षदेखिको अनुभव नै पर्याप्त छ ।

देशभरमा संक्रमण दर बढेको छ । पछिल्लो समय परीक्षण गराउनेको संख्या बढेसँगै संक्रमितको संख्यामा पनि वृद्धि भएको हो । प्रतिशतका आधारमा विगत दुई महिनादेखि देशभर आँकडा उस्तै भए पनि मकवानपुरमा भने निकै वृद्धि भएको छ । मकवानपुरमा संक्रमण दर बढ्नुका कारणको खोजी गर्नुपर्ने हुन्छ । यहाँका नागरिकले स्वास्थ्य सावधानी नअपनाउँदाको परिणाम संक्रमण वृद्धि भएको छ । मास्क लगाउनुपर्ने देखि हात धुने तथा सामाजिक दूरी कायम गर्ने जस्ता विषयमा प्रायः सबै नागरिक जानकार नै छन् । तर व्यवहारमा लागू नगर्दा संक्रमणले मौलाउने मौका पाएको छ । संक्रमण नियन्त्रणको जिम्मेवारी राज्यको मात्र ठान्ने प्रवृत्ति घातक बन्दै गएको छ ।

मकवानपुरमा संक्रमण बढेको भन्दै अत्यावश्यक उपभोग्य वस्तु बिक्री गर्ने पसलहरु बिहान ५ बजेदेखि १० बजेसम्म खोल्न पाउने आदेश गरेको छ । यस्तै गैरखाद्य वस्तुका पसलहरु दिउँसो १२ बजेदेखि ४ बजेसम्म मात्रै खोल्न पाउने आदेश स्थानीय प्रशासनले गरेको छ । यसअघि गैरखाद्य वस्तुका पसलहरु दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म खुला हुनेछन् । अघिल्लो आदेशभन्दा पसल खोज्ने समय एक घण्टा घटाइएको छ । तर यसअघि गरेको निषेधाज्ञामा किन नागरिकले आदेशको पूर्ण पालना गरेनन् भन्ने पक्षबाट विश्लेषण आवश्यक छ । आदेश जारी गर्दा मात्र कोरोना संक्रमण कम हुने होइन । त्यसको पालना महत्वपूर्ण पक्ष हो । यसका लागि राज्यभन्दा नागरिक जिम्मेवार बन्नुपर्दछ ।

समाजका सबै पक्ष, क्षेत्र व्यवसाय गर्नेहरुले स्वास्थ्य मापदण्ड पालना गर्ने हो भने निषेधाज्ञा नै आवश्यक नपर्न पनि सक्छ । नागरिक सचेत नभएर हैन कि लापरवाही गर्दाको परिणाम संक्रमण बढ्दै गएको हो । नागरिकलाई सचेत बनाउन भन्दै जिल्ला प्रशासनको आग्रहमा हेटौंडाका विभिन्न सार्वजनिक स्थानहरुमा मास्क अभियान सञ्चालनसमेत भयो । अज्ञानीहरुका लागि त्यस्तो अभियान प्रभावकारी हुने थियो । तर सचेत नागरिकबाटै लापरवाहीका कारण स्वास्थ्य मापदण्ड पालना नभएको अवस्थामा मास्क अभियानको पनि प्रभावकारिता देखिएन । अभियानसँगै कोरोनाको महामारी बढ्दै गएको छ । तसर्थ निषेधाज्ञालाई निरन्तरता भन्दा स्वास्थ्य मापदण्ड परिपालनका लागि प्रशासनबाट समेत कडाईका साथ अनुगमन गर्ने तथा कानुनअनुसारको कारवाही आवश्यक छ । आदेश जारी गर्ने भन्दा पनि स्वास्थ्य मापदण्डको पालनामा कडाई गर्नु अहिलेको आवश्यकता हो ।