हेटौंडाः राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल शनिबार दिउँसो सार्वजनिक गरेको छ । बोर्डको शनिबार बसेको बैठकको निर्णयअनुसार २०७७ सालको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको हो । यसवर्ष विद्यालयहरुबाट प्राप्त आन्तरिक मूल्यांकनको आधारमा एसईई परीक्षाको नतिजा सार्वजनिक गरिएको हो ।
सार्वजनिक नतिजाअनुसार मकवानपुर जिल्लाबाट ६ हजार ३ सय २३ विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका सूचना अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।
मकवानपुर जिल्लाका १ सय ३१ वटा विद्यालयबाट ६ हजार ३ सय २३ विद्यार्थी सहभागी भएका थिए । कोरोना भाइरसका कारण निर्धारित समयमा परीक्षा हुन नसकेपछि विद्यालयहरुले आन्तरिक मूूल्यांकन गरी प्राप्तांक पठाएका थिए । सोही आधारमा राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले शनिबार परीक्षाफल प्रकाशन गरेको हो ।











