हेटौंडाः थाहा नगरपालिकाको आगरामा रहेको ईन्द्रायणी माध्यमिक विद्यालयमा कार्यरत एक शिक्षकलाई आर्थिक सहयोग प्राप्त भएको छ । विद्यालयका क्यान्सर पीडित शिक्षक नवराज अर्याललाई १ लाख १३ हजार ८ सय ५० रुपैयाँ सहयोग प्राप्त भएको हो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन थाहानगर समितिले शिक्षक अर्याललाई क्यान्सर रोगको उपचारमा सहयोगका लागि बुधबार सो रकम उपलब्ध गराएको हो । संगठनको थाहानगर समितिले सञ्चालन गरेको रकम संकलन अभियानबाट उठेको रकम सहयोग गरेको नगर समितिका सचिव कृष्ण लामिछानेले बताउनुभयो ।

यसैबीच नेपाल राष्ट्रिय शिक्षक संगठन थाहानगर समितिले समसामयिक सवालमा विचार गोष्ठी सम्पन्न गरेको छ । जिल्ला समिति मकवानपुरका अध्यक्ष श्रीराम दाहालको प्रमुख आतिथ्य एवम् हेटौंडा नगर समितिका अध्यक्ष मुकुन्द न्यौपानेको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा नेपाल शिक्षक महासंघ थाहानगर समितिका सचिव गणेशमान श्रेष्ठ, संगठनका पूर्वजिल्ला सदस्य नारायण कार्कीलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर समितिका अध्यक्ष रुपचन्द्र गोपालीको अध्यक्षतामा सम्पन्न भएको हो ।