खेलका लागि तयारी गरिँदै खेलाडी ।

हेटौंडाः यहि आउँदो भदौ १ गतेबाट सुरु हुने सी डिभिजन लिग फुटबल प्रतियोगिताको छनोटको लागि मकवानपुरसहित देशभरका क्लबहरुले तयारी तिब्र पारेका छन् । नेपाली फुटबलमा ए डिभिजन लिगसम्म पुग्नको लागि पहिलो खुड्किलाको रुपमा रहेको सी डिभिजन छनोटको तयारी मकवानपुरको बिजय युथ क्लबले पनि गरिरहेको छ।

यस्तै सर्लाही जिल्लाको बागमती युवा क्लब पनि छनोटको तयारीमा रहेको देखिन आएको छ । यसै सन्दर्भमा मकवानपुरको हेटौंडामा आयोजना हुने हेटौंडा गोल्डकपको आयोजक बिजय युथ क्लब र यसै प्रतियोगितामा नियमित रुपमा सहभागिता जनाउँदै आएको बागमती युवा क्लबले बुधबार मैत्रीपूर्ण खेल खेलेको छ । सर्लाहीको बागमती नगरपालिकादेखी हेटौंडासम्मको यात्रा गर्दै बागमती युवा क्लब मैत्रीपूर्ण खेल खेल्न हेटौंडा आएको थियो । बिजय युथको निमन्त्रणा पछि सी डिभिजन लिग छनोट खेल्ने दुबै टिमले बुधबार मैत्रीपूर्ण खेल खेलेको बिजय युथ क्लबका अध्यक्ष सुदिप राजबाहकले बताउनुभयो । कोरोनाको समयमा पनि सुरक्षा मापदण्ड पालना गर्दै बागमती युवा क्लब आफ्नै क्लबको बसमा हेटौंडा आएको उक्त क्लबका टिम म्यानेजर सागर मैनालीले जानकारी दिनुभयो ।

बुधबार भएको निर्धारित ८० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको छ । दुबै टिमले गोलगर्ने अवसर सिर्जना गरेपनि बल नियन्त्रण गर्न नसक्दा गोल गर्न सकेनन् । खेलमै पेनाल्टीको अवसर पाएको बागमतीले समेत गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमै सकिएको हो । मैत्रीपूर्ण खेल भएकाले नियमित प्रशिक्षणको लागि मात्र खेल गराइएको बिजय युथ क्लबका प्रशिक्षक बिजयलाल श्रेष्ठले बताउनुभयो । खेल सुरु भएपछी पानी परेको भएपनि दुबै टिमको सहमतीमा खेल जारी राखिएको थियो । पानीकै कारण आफ्नो टिमले धेरै पटक मौका पाउँदा समेत चिप्लिएको कारण गोल गर्न नसकेको बागमतीका प्रशिक्षक सुनिल श्रेष्ठले बताउनुभयो । केही दिन अघि बागमती युवा क्लबले सिन्धुली जिल्लामा गएर दुधौली स्पोर्ट्स क्लबसँग पनि मैत्रीपूर्ण खेल खेलेको उहाँले जानकारी दिनुभयो ।