हेटौंडाः स्वास्थ्य सुरक्षाको सम्पूर्ण मापदण्ड पूरा गरेर पूर्वनिर्धारित परीक्षा सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी (प्रजिअ)ले आग्रह गर्नुभएको छ । कोरोना संक्रमण जोखिमका कारण निषेधाज्ञा कायमै रहेको अवस्थामा सुरु भएको स्नातक प्रथम वर्षको परीक्षा केन्द्रमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना नभएपछि मकवानपुरका प्रजिअ भरतमणि पाण्डेले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्नुभएको हो ।
पूर्व निर्धारित परीक्षा लिन सकिने भएपनि सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेरमात्र परीक्षा लिनुपर्ने पाण्डेले बताउनुभयो । अनिवार्य मास्क लगाउन, परीक्षार्थीको ज्वरो परीक्षण गर्न र सेनिटाइजरको प्रयोग गर्न प्रजिअ पाण्डेले आग्रह गर्नुभएको छ । परीक्षा हुने प्रत्येक कोठामा २५ जनाको दरले परीक्षार्थी राख्नुपर्ने भनिए पनि परीक्षा हलमा ५४ जनासम्म परीक्षार्थीहरु राखेर परीक्षा सञ्चालन गरिएको थियो । प्रजिअ पाण्डेका अनुसार परीक्षा हलभित्र र बाहिरसमेत सामाजिक तथा भौतिक दुरी कायम गरी परीक्षा सञ्चालनको वातावरण सम्बन्धित क्यापसले तयार गर्नुपर्ने बताउनुभयो । सुरक्षाको मापदण्ड पालना नभएको पाइएमा जिल्ला प्रशासन कार्यालयले कारबाही गरिने उहाँले बताउनुभयो ।
पछिल्लो पटक जिल्लामा निषेधाज्ञा थप गर्दै गत साउन ६ गते प्रजिअ पाण्डेद्वारा जारी निषेधाज्ञा आदेशमा परीक्षा सञ्चालनसम्बन्धी ५ वटा बुँदामा निर्देशन दिइएको छ । २५ जनाभन्दा बढी परीक्षार्थी भेला जम्मा नहुने गरी परीक्षा सञ्चालन गर्ने, एकै दिनमा २५ जनाभन्दा बढी परीक्षार्थी जम्मा हुने अवस्था भएमा सिफ्ट वाइज परीक्षा सञ्चालन गर्ने आदेशमा उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट जारी आदेशमा परीक्षार्थीहरु हलमा प्रवेश गर्नुपूर्व र परीक्षा समाप्त भएपश्चात् मापदण्डबमाजिमको भौतिक दुरी कायम हुने व्यवस्था मिलाउन भनिएको छ । यस्तै, एउटा सिफ्टका सबै परीक्षार्थीहरु परीक्षास्थलबाट बाहिरिएपछि मात्र अर्काे सिफ्टका परीक्षार्थीहरु प्रवशे गर्न मिल्ने गरी फरक समय राख्न तथा परीक्षा सञ्चालनको क्रममा जनस्वास्थ्यका मापदण्डहरुको अनिवार्य पालना गरी मास्क तथा सेनिटाइजरको उचित प्रयोग गर्नुका साथै प्रत्येक सिफ्टमा परीक्षा हल अनिवार्यरुपमा निसंक्रमण गर्न आदेश दिइएको छ ।
निषेधाज्ञा आदेशमा उल्लेखित प्रावधानहरु हेटौंडाका कुनै पनि परीक्षा केन्द्रमा पालना भएका छैनन् । परीक्षा केन्द्र रहेका मकवानपुर बहुमुखी क्याम्पस तथा हेटौंडा क्याम्पसमा एकै सिफ्टमा ६ सयभन्दा बढी परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । परीक्षा हलभित्र भौतिक दुरी कायम गरिने भए पनि क्याम्पस परिसरभित्र तथा बाहिर त्यति धेरै विद्यार्थीबीच भौतिक दुरी कायम गर्न समस्या भएको क्याम्पस प्रमुखहरुले जानकारी दिनुभएको छ ।
कोरोना भाइरस संक्रमणमा कमी आउन थालेपछि त्रिभुवन विश्वविद्यालयले पूर्व निर्धारित परीक्षा सुरु गरेको हो । यसैगरी कक्षा १२ को एसएलसी परीक्षा पनि राष्ट्रिय परीक्षा बोर्डले आगामी साउन ३१ गतेबाट सञ्चालन गर्ने सूचना जारी गरेको छ । जिल्लाका केही स्कूल तथा कलेजहरुले कक्षा ११ परीक्षा पनि सञ्चालन गरिरहेका छन् । फेरि कोरोना भाइरस संक्रमण बढ्दै गरेको अवस्थामा विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुँदै गर्दा परीक्षा केन्द्र कोरोना सार्ने स्थल नबनोस् भन्नेतर्फ सम्बद्ध पक्ष गम्भीर बन्नु आवश्यक छ ।
रोकिएको परीक्षा सुरु भएपछि विभिन्न जिल्लाबाट परीक्षार्थीहरु परीक्षा दिन आएकाले संक्रमणको जोखिम उच्च रहने सम्भावना छ । परीक्षार्थीहरुले स्वास्थ्य मापदण्डको पालना नगर्दा कोरोना भाइरस सहजरुपमा एकअर्कामा सर्ने भएकाले परीक्षा केन्द्र रहेका क्याम्पस तथा स्कूलहरुले पनि जिल्ला प्रशासन कार्यालयबाट जारी भएको आदेशको पालना गर्नु आवश्यक छ ।