हेटौंडाः संवैधानिक अधिकार उपभोग गर्ने क्रममा प्रदेशमा १४ मन्त्री भएको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बताउनुभएको छ । बिहीबार ‘मजबुत प्रदेश, समृद्ध देश’ भन्ने मुल नाराका साथ कान्तिपुर टिभीले आयोजना गरेको मुख्यमन्त्रीसँग कान्तिपुर कार्यक्रममा कान्तिपुर टिभीका पत्रकार विजय पौडेलले सोध्नुभएको ‘दुई ठूलो पार्टी बनेर पनि किन प्रदेशमा मन्त्री घट्न सकेन ?’ भन्ने प्रश्नमा मुख्यमन्त्री लामाले सो कुरा बताउनुभएको हो ।
पहिला संघमा पनि धेरै मन्त्री बन्ने गरेको र संविधानले मन्त्रिमण्डलको निश्चित संख्या तोकेको मुख्यमन्त्रीले लामाले बताउनुभयो । संविधानले प्रदेशसभा सदस्य संख्याको २० प्रतिशतको संख्यासम्म मन्त्री बनाउन पाउने अधिकार दिएको उहाँले स्पष्ट पार्नुभयो । संवैधानिक अधिकार अनुसार बागमती प्रदेशमा २२ जनासम्म मन्त्री बन्न सक्ने भए पनि १४ जनामात्र मन्त्री भएको उहाँको भनाइ छ ।
पत्रकार पौडेलले बागमती प्रदेशले जसरी मन्त्रालय र मन्त्री बनाउन संविधानको प्रयोग गर्यो, त्यसरी संविधानको अन्य व्यवस्था कार्यान्वयन गर्न किन नसकेको भन्ने प्रश्न गर्नुभयो । पौडेलले संविधानमा हरेक व्यक्तिको रोजगार, शिक्षा, स्वास्थ्यजस्ता मौलिक हक प्रदेश सरकारले किन पूरा गर्न नसकेको भन्ने प्रश्न गर्नुभयो । उक्त प्रश्नको जवाफमा मुख्यमन्त्री लामाले खान पाउने अधिकार सुनिश्चित गर्नका लागि काम गर्नुपर्ने र रोजगार केमा पाइन्छ भन्ने कुरा थाहा पाउनुपर्ने बताउनुभयो । खेतबारी बाँझो राखेर सरकारले रोजगार दिएन भन्न नमिल्ने उहाँको भनाइ छ ।
रोजगार सिर्जना गर्नका लागि उद्योग, कलकारखाना सञ्चालनमा सहजीकरण गर्नुपर्ने भए पनि नागरिकको हेर्ने दृष्टिकोण राम्रो नभएको मुख्यमन्त्री लामाले जिकिर गर्नुभयो । सरकारले पनि लापरबाही ढङ्गले काम गरिरहेको भन्दै उहाँले कसैले उद्योग सञ्चालन गर्न लागेमा तस्करले उद्योग सञ्चालन गर्यो भनेर भ्रम फैलाउने परिपाटी रहेको बताउनुभयो । राष्ट्रमा आएका लगानीकर्ताहरुलाई निरुत्साहित गर्दा रोजगार प्राप्त गर्न नसकिने उहाँको भनाइ छ ।
‘पछाडि पारिएका वर्ग, क्षेत्र, समुदाय, अपाङ्गता भएका व्यक्तिदेखि दलितसम्मलाई राज्यको मुलप्रवाहमा ल्यउन के कस्ता कानुन निर्माण गरेको छ र यस विषयमा बागमती प्रदेश सरकार कत्तिको सफल भएको छ ?’ भन्ने पत्रकार पौडेलको प्रश्नमा मुख्यमन्त्री लामाले पछाडि पारिएका वर्ग, क्षेत्र, समुदाय, दलित, अपाङ्गता भएका व्यक्तिलाई विशेष किसिमले हरिएको र निम्न आर्थिक अवस्था भएका व्यक्तिको निःशुल्क उपचार गरेको बताउनुभयो । प्रदेशका १३ वटै जिल्लामा सुविधासम्पन्न अस्पताल निर्माण गरिएको र स्टाफ नर्स पढ्ने व्यवस्थासमेत गरिएको मुख्यमन्त्री लामाले दावी गर्नुभयो ।
हाल प्रदेश सरकारले दक्ष जनशक्ति उत्पादनमा जोेड दिएको मुख्यमन्त्री लामाको भनाइ छ । विदेशमा जाँदा पनि दक्ष भएपछि पारिश्रमिक धेरै पाउने भन्दै उहाँले व्यावहारिक शिक्षामा जोड दिएको र कमाउँदै सिक्दै कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयो । कसरी हुन्छ बेरुजु घटाउनेतर्फ प्रदेश सरकार लागि परेको उहाँको भनाइ छ ।
कार्यक्रममा प्रदेशका मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, विद्यार्थी र प्रतिपक्ष दलका नेताको पनि उपस्थिति थियो । प्रतिपक्ष दलका सांसद रत्न ढकालले संविधान बानाउन मुख्य भूमिका खेलेका तीन राजनीतिक दलहरुको एकात्मक सोच, शैली र परम्परागत चिन्तनका कारण संघीयतामाथि बाधा व्यवधान आएको बताउनुभयो । संघीय सरकारले निजामती ऐन, शिक्षक ऐनजस्ता साझा अधिकारका थुप्रै ऐनहरु नदिँदा प्रदेशले काम गर्न नपाएको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री लामाले आगामी दिनमा विकासको कम गर्दा थोरै भए पनि दिगो र भुइँ वर्गका जनतालाई समेत विकास महसुश हुनेगरी विकास योजना सञ्चालन हुने बताउनुभयो ।