आँखा जाँच गर्न आएका मानिसहरु ।

हटौंडाः हेटौंडा सामुदायिक आँखा अस्पतालमा दैनिक २ सय ५० भन्दा बढी आँखाका बिरामी आँखा जाँच गराउन आउने गरेका छन् । आइतबार पनि अस्पतालमा ३ सय ५६ जना आँखाका बिरामी आँखाको उपचार गर्न आएका छन् ।

गत आर्थिक वर्ष २०७७-०७८ मा ४० हजार जना आँखाको बिरामी उपचार गर्न आएको हेटौंडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधिर श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालमा आउने बिरामीमध्ये सबैभन्दा बढी आँखा चिलाउने, जलविन्दु, मोतीविन्दुलगायतका समस्या भएको बिरामी आउने गरेको उहाँले बताउनुभयो ।

निषेधाज्ञा लागू भएपछि अस्पतालमा आउने बिरामीको संख्या घटेको छ । निषेधाज्ञा लागू नहुँदा दैनिक ३ सय ५० भन्दा बढी बिरामीहरु आउने गरेकोमा अहिले निषेधाज्ञाका कारण टाढाटाढाबाट आउने बिरामीलाई आउन समस्या हुने भएकाले बिरामीको संख्या घटेको हो । अहिले कोरानाको बेलामा सुरक्षाको मापदण्ड अपनाएर बिरामीमा भौतिक दुरी कायम गराई उपचार गर्नुपर्ने भएकाले बिरामीको उपचार गर्न बढी समय लाग्ने गरेको अस्पतालका व्यवस्थापक श्रेष्ठले जानकारी दिनुभयो ।

हेटौंडा सामुदायिक आँखा अस्पतालमा हप्ताको ३ दिन मोतीविन्दुको अपरेशन गरिन्छ । हप्तामा मोतीविन्दुको अपरेशन गर्ने बिरामी ४० देखि ५० जना आउने गरेका छन् । हेटौंडा आँखा अस्पतालमा अस्पताल प्रमुखको रुपमा डा. सुनिल थकाली, जलविन्दु विशेषज्ञका रुपमा डा. कल्पना सिंह तथा डाक्टर होमबहादुर गुरुङले सेवा दिरहेका छन् । अस्पतालमा आर्थिक वर्ष २०७७-०७८ मा १६ जनाले आँखा दान गरेका छन् ।

अहिलेको समयमा आँखाको समस्या हुने बिरामीको संख्या बढ्दै गएको छ । आँखाको बिरामीको संख्या बढ्नुको कारण जनसंख्याको वृद्धि र मोबाइल कम्प्युटरजस्ता डिभाइसहरुको बढी प्रयोग गरिएकाले आँखामा समस्या देखिने र आँखासम्बन्धी बिरामीको संख्या बढेको हेटौंडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक श्रेष्ठले बताउनुभयो ।

हेटौंडा–६, हात्तीलेटका ७८ वर्षीय खडानन्द सापकोटाले आँखामा समस्या भएका कारण हेटौंडा सामुदायिक आँखा अस्पतालमा उपचारका लागि आएको बताउनुभयो । आँखा दुख्ने, आँशु आउने, आँखा नदेख्ने समस्या भएर अस्पताल आउनुभएका सापकोटाको आँखा जाँच गरेपछि मोतीविन्दु पुष्टि भएको हो । सोमबार रगत परीक्षण गरी बुधबार मोतीविन्दुको शल्यक्रिया गरिने सापकोटाले बताउनुभयो ।

काभ्रेबाट आउनु भएका ७० वर्षीया चन्द्रकुमारी तिमल्सिना पनि आँखा चिलाउने, आँशु आउने समस्या भएर अस्पताल आएको बताउनुहुन्छ । समस्या देखिएको २–३ महिनापछि हेटौंडा सामुदायिक आँखा अस्पतालमा राम्रो उपचार हुन्छ भन्ने सुनेर काभ्रेबाट उपचारका लागि हेटौंडा आएको उहाँले बताउनुभयो ।

मकवानपुरगढी गाउँपालिका–६, डुम्रेकुनाकी ५१ वर्षीया सान्नानी सिलवाल आँखा दुख्ने, आँखा नदेख्ने समस्या भएर अस्पताल आएको र परीक्षणपछि डाक्टरले चस्मा लगाउनुपर्छ भन्नुभएको बताउनुहुन्छ । यस्तै, हेटौंडा–१६, चिसापानीकी कक्षा ७ मा पढ्ने १२ वर्षीया युनिसा दुलाल पनि आँखाको समस्याले अस्पताल आएको बताउनुहुन्छ । आँखा पोल्ने, दुख्ने समस्या भएर अस्पताल आउनुभएकी युनिसा डाक्टरले मोबाइल, कम्प्युटर बढी हेरेर आँखामा असर परेको भन्नुहुन्छ । ‘मोबाइल नहेरेर पनि भएन, अनलाइन कक्षा हुन्छ । नपढेर भएन, पढ्नै पर्छ । अब आँखामा समस्या भए पनि पढ्नै परेको’, दुलालले बताउनुभयो । अहिलेको अवस्थामा मोबाइल र विभिन्न इलेक्ट्रोनिक्स डिभाइसहरुको प्रयोगले नै आँखासम्बन्धी बिरामीको संख्या बढ्दै गएको डाक्टरहरुको भनाई छ ।