हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका केन्द्रित बाल साहित्य प्रशिक्षणबारे अभिमुखीकरण कार्यक्रम भएको छ । झरना साहित्यिक परिवार मकवानपुरको आयोजना तथा झरना–बकैया बालसाहित्य परिचालन समितिको संयोजनमा भर्चुअल माध्यमबाट कार्यक्रम भएको हो ।

झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्य रहेको थियो । अध्यक्ष खनालले गाउँपालिकाका विद्यार्थीहरुको साहित्यिक यात्रा तीव्र गतिमा अघि बढेको बताउनुहुँदै बालबालिकालाई साहित्यको माध्यमबाट सत्मार्गमा लागेकोमा आभार व्यक्त गर्नुभयो । साहित्य क्षेत्रबाट समाजको विकृति र विसङ्गति विरुद्व लेख्ने व्यक्तिले अवश्य पनि समाजलाई सत्मार्गमा डोर्‍याउने उहाँले बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले साहित्य क्षेत्रमा गरेको योगदानको बारेमा जानकारी गराउँदै आफ्ना रचनाहरु समेत वाचन गरेका थिए । कार्यक्रममा झरना साहित्यिक परिवार मकवानपुरका संस्थापक रमेशमोहन अधिकारी, झरना–बकैया बालसाहित्य परिचालन समितिका सल्लाहकार चिरञ्जीवी लामिछाने, सचिव स्वस्तिका दाहाल लगायत विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।