तस्बिरः गुगल ।

हेटौंडाः मकवानपुर जिल्लामा एक वर्षमा एक सय ४१ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७७-०७८ मा जिल्लामा एक सय ४१ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ ।

आत्महत्या गर्नेमा बढी झुण्डिएर मर्ने गरेका पाइएको छ । झुण्डिएरमात्रै ९२ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा पाइएको छ । गत आर्थिक वर्षको अवधिमा जिल्लाभित्र ५७ जना पुरुष, २६ जना महिला, ४ जना बालक र ५ जना बालिकाले झुण्डिएर आत्महत्या गरेको प्रहरीको तथ्यांक छ ।

यसैगरी विष सेवन गरेर गत आर्थिक वर्षमा ४८ जनाले आत्महत्या गरेको पाइएको छ । विष सेवन गरेर आत्महत्या गर्नेमा महिला–पुरुष बराबर रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ । विष सेवन गरेर पछिल्लो एक वर्षमा २३ जना पुरुष र २३ जना नै महिलाले आत्महत्या गरेका छन् । यस्तै, एक–एक जना बालक र बालिकाले पनि विष सेवन गरेर आत्महत्या गरेको पाइएको छ । गत आर्थिक वर्षमा पानीमा हाम फालेर एकजना महिलाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।