सांकेतिक तस्वीर ।

हेटौंडाः २४ घण्टाको अवधिमा हेटौंडा अस्पतालमा उपचाररत कोरोना संक्रमित ३ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजेदेखि सोमबार दिउँसो १२ बजेको समयसम्ममा ३ जनाको मृत्यु भएको हो ।

हेटौंडा अस्पतालका सूचना अधिकारी राजिव झाकाअनुसार आइतबार साँझ ७ बजेर १० मिनेटको समयमा हेटौंडा–२ का ५५ बर्षीय पुरुषको मृत्यु भएको थियो भने सोमबार बिहान १० बजेर ३५ मिनेटमा हेटौंडा–१५ का ५४ वर्षीय पुरुषको र सोमबार बिहान ११ बजेर ५० मिनेटमा हेटौंडा–४ का ५२ वर्षीय पुरुषको मृत्यु भएको हो । तीनैजना कोभिड वार्डको अति सघन उपचार कक्ष (आइसियु) मा उपचार गराइरहेका थिए । योसँगै हेटौंडा अस्पतालमा उपचारको क्रममा हालसम्म १ सय ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अहिले हेटौंडा अस्पतालको कोभिड वार्डको आइसियुमा ७ जना, एचडियुमा १५ जना र इमर्जेन्सीमा २ जना गरी २४ जना उपचाररत छन् । सोमबार एचडियुबाट ५ जना र इमर्जेन्सीबाट १ गरी ६ जना डिस्चार्ज भएका छन् । मकवानपुर जिल्लामा जारी निषेधाज्ञा केही खुकुलो भएसँगै संक्रमितको संख्या पनि बढ्दै गएको हेटौंडा अस्पतालको कोभिड वार्डका इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिनुभएको छ ।