अफिम जस्तो देखिने कालो पदार्थसहित पक्राउ परेको रत्न भुलन ।

हेटौंडाः लागूऔषध अफिम जस्तो देखिने ५ किलो ७ सय ग्राम कालो पदार्थसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–५ का ४४ बर्षीय रत्न भुलन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

लागूऔषध नियन्त्रण व्युरो काठमाडौंबाट खटिएको प्रहरीको टोलीले भुलनलाई मकवानपुरको हेटौंडा–२, संगमचोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभएको छ । उहाँका अनुसार काठमाडौंबाट प्रहरी नायव उपरीक्षक योगेन्द्र कुमार खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौंडा–२ संगमचोकमा हिँडिरहेको अवस्थामा सोमबार दिउँसो साढे १ बजेको समयमा भुलनलाई सुरक्षाजाँच गर्दा उसले बोकेको झोलामा २ पोका प्लाष्टिकमा अफिम जस्तो पदार्थ फेला परेको हो ।

अफिम जस्तो देखिने बस्तु २ पोकासहित भुलनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखीथप अनुसन्धान गरिरहेको जनाएको छ ।