मकवानपुरको जिल्ला प्रशासन कार्यालय भवन ।

हेटौंडाः निरन्तररुपमा भइरहेको वर्षाका कारण आइपर्ने विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहनका लागि जिल्लाका सबै स्थानस्य तहलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्देशन दिएको छ । मनसुनजन्य विपद्लाई मध्यनजर गर्दै सबै स्थानीय तहहरुले आ–आफ्ना क्षेत्रभित्रका सबै वडाहरुमा उद्दार सामग्रीसहित तयारी अवस्थामा रहन आवश्यक व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सूचना जारी गर्दै निर्देशन दिनुभएको हो ।

गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकको निणर्यअनुसार मकवानपुरमा समेत कार्यान्वयन गराउनका लागि जिल्ला प्रशासन कार्यालयमार्फत सबै स्थानीय तहहरुलाई निर्देशन दिइएको उहाँले बताउनुभयो । जिल्लाका सबै स्थानीय तहका सबै वडा कार्यालयहरुले कम्तिमा पनि स्ट्रेचर–१, बाल्टी–५, डोरी–२०० मिटर (बलियो), सेफ्टी हेलमेट–५ (गुणस्तरीय), बन्चरो–२, आँसी, हँसिया–२, गैंती–२, कोदालो, बेल्चा–२/२, हातखुट्टाको काम्रो–२, हाते आरी–२, लिभर–२ (राम्रो), घन–२, टर्चलाइट तथा हेडलाइट–४, सिठ्ठी, प्राथमिक उपचार सामग्री तथा स्थानगत आवश्यकताअनुसार अन्य सामग्रीहरुको व्यवस्था गर्न निर्देशन दिइएको छ ।

स्थानीय तहले सो सामग्रीहरु व्यवस्था गर्न नसकेमा जिल्ला विपद् व्यवस्थापन समितिलाई अनुरोध गर्न पनि प्रशासनले जानकारी गराएको छ । यस्तै बाटो पहुँच भएको स्थानमा विपद्को घटना भएको ३० मिनेटभित्रमा सम्बन्धित स्थानमा उद्दारको लागि पुग्नेगरी तीनवटै सुरक्षा निकाय सम्मिलित उद्दार समिति गठन गर्नका लागि जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्न पनि सूचनामा जनाइएको छ । साथै सो सम्बन्धमा गरिएको क्रियापलापहरुको प्रतिवेदन तयार पारी जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्देशन दिएको छ ।

यसैगरी मनसुनजन्य विपद्का घटनाहरुबाट हुनसक्ने क्षतिलाई कम गर्नका लागि विपद्सम्बन्धी सूचनाहरु तत्काल प्रवाह गर्ने संयन्त्र तयार गर्न, सबै स्थानीय तहहरु एवम् विपद् व्यवस्थापन क्षेत्रमा क्रियाशील संघसंस्थाहरुले जुनसुकै समयमा वितरण गर्नसक्ने गरी खाद्यान्न गैरखाद्यान्न सामग्रीहरु तयारी अवस्थामा राख्नको लागि पनि आग्रह गरिएको छ ।

भीमफेदी–कुलेखानी सडक बन्द
मनसुन सुरु भएलगत्तै पछिल्लो केही दिनदेखि निरन्तररुपमा भएको वर्षाका कारण हेटौंडा–भीमफेदी–कुलेखानी सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्न थालेको छ । पहिरोका कारण सडक अवरुद्ध भई यातायात आवतजावतमा समस्या भइरहेको बेला कुनै किसिमको क्षति हुन नदिनका लागि भन्दै भीमफेदी–कुलेखानी सडकखण्ड बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मनसुन अवधिभर उक्त सडकखण्डमा सवारी साधनको आवतजावतमा रोक लगाइएको जनाएको छ ।