हेटौंडाः हेटौंडा–१० स्थित वन विज्ञान क्याम्पस परिसरमा कुकुरले फेरि चित्तल मारेको छ । दुर्लभ वन्यजन्तुको रुपमा रहेको चित्तललाई कुकुरले आक्रमण गरेर मार्ने क्रम बढे पनि संरक्षणमा भने ध्यान पुग्न सकेको छैन ।
वन विज्ञान विषय अध्ययनरत विद्यार्थीले केही समयअघि संरक्षणको माग गर्दै पूर्वपश्चिम राजमार्गसमेत बन्द गरेका थिए । शुक्रबार बिहान वन विज्ञान क्याम्पसको खेल मैदानमा अन्दाजी ७ बर्षको वयस्क चित्तल मृत अवस्थामा भेटिएको वन विज्ञान क्याम्पसमा स्नात्तकोत्तर तह अध्ययनरत विद्यार्थी सुजन खतिवडाले जानकारी दिनुभएको छ । कुकुरले आक्रमण गरेर चित्तलको आन्द्राभुँडी नै बाहिर निकालेर मारेको अवस्थामा चित्तल भेटिएको छ ।
एक बर्षको बीचमा २० वटा चित्तल मारिएको छ । चित्तलको राम्रो बासस्थान रहेको वन विज्ञान क्याम्पसको वन क्षेत्रमा चोरी शिकारीको समेत जोखिम रहेको छ । वन क्षेत्र र वन्यजन्तुको सुरक्षाका लागि पर्खाल लगाउने कार्य नहुनु र कुकुर नियन्त्रणमा ध्यान नपुग्दा दूर्लभ चित्तल थप जोखिमा छन् ।