गुगल तस्बिर ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि शिक्षातर्फ झण्डै ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उपमहानगरपालिकाले गत बिहीबार आर्थिक वर्ष २०७८/०७९ का लागि २ अर्ब ६० करोड १५ लाखको बजेट विनियोजन गर्दा शिक्षा क्षेत्रका लागि ६३ करोड ९३ लाख बजेट विनियोजन गरेको हो । उपमहानगरपालिकाको ९ औं नगरसभामा उपमेयर मीनाकुमारी लामाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको थियो । शिक्षा तर्फको सशर्त र आन्तरिक बजेटतर्फका कार्यक्रम सञ्चालन गर्न कूल बजेटको झण्डै २५ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

हेटौैंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आर्थिक अभावकै कारण बालबालिकाले पढाईबाट वञ्चित हुन नपर्ने उद्घोष गर्नुभएसँगैै उपमहानगरले बालबालिकाको शिक्षामा सहयोग पुग्ने किसिमका योजनाका लागि बजेटलाई प्राथमिकता दिएको छ । हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत रामचन्द्र खड्काले शिक्षाका लागि उपलब्धिपूर्ण र राम्रो बजेट आएको बताउनुभएको छ । उहाँका अनुसार शिक्षामा बालबालिकालक्षित साथै प्रविधिमैत्री र गुणस्तरीय शिक्षामा जोड दिने गरी बजेट आएकाले शिक्षाको बजेट राम्रो भएको खड्काले बताउनुभएको छ ।

हेटौंडा उपमहानगरपालिकाले सार्वजनिक गरेको बजेटमा प्रारम्भीक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको कार्य उत्प्रेरणा अभिवृद्धि गर्न तलब भत्ता थप एक करोड ९५ लाख ९ हजार रुपैैयाँ र शिक्षक स्वर्णिम अवकास योजनाका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । विद्यार्थीको दिवा खाजा कार्यक्रमका लागि विद्यालय अनुदान २ करोड ९८ लाख १ हजार विनियोजन गर्दा सार्वजनिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक अनुदानका लागि एक करोड ६३ लाख ६१ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

विद्यालय शैक्षिक गुणस्तर सुदृढीकरण एवम् कार्यसम्पादनमा आधारित प्रोत्साहनका लागि एक करोड ५७ लाख ४ हजार बजेट विनियोजन गरिएको छ । विद्यालयका महिनाबारी हुने उमेर समूहका छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्न ७९ लाख ५२ हजार रुपैयाँ बजेट विनियोजन गरिएहो छ । शिक्षण सिकाई सामग्री एवम् कक्षा ८ को परीक्षा व्यवस्थापन गर्न एक करोड ४ लाख ७४ हजार बजेट विनियोजन गरिएको छ ।

कोभिडका कारण उत्पन्न परिस्थितिमा सिकाई सहजीकरण कार्यक्रमका लागि ९७ लाख रुपैयाँ विनियोजन हुँदा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्त अनुदानतर्फ ८० लाख ८४ हजार बजेट विनियोजन गरिएको छ । नमूना विद्यालय विशेष क्रमागत भवनको लागि एक करोड ४० लाख तथा शैक्षिक संस्था पूर्वाधार सहयोगअन्तर्गत् ८० लाख रुपैयाँ विनियोजन भएको छ ।

विद्यालयहरुमा स्मार्ट बोर्ड, बायोमेट्रिक हाजिरी, प्रोजेक्टरमा आधारित सिकाई र प्रत्येक आधारभूत विद्यालयहरुमा कम्तिमा एक ल्यापटप र प्रिन्टरसहित सूचना प्रविधिमा आधारित सिकाईमा जोड दिने उपमहानगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम बजेट विनियोजन गरिएको छ । उपमहानगर क्षेत्रका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरुमा इन्टरनेट सेवा विस्तार गरिने भएको छ । जीवनोपयोगी आधुनिक, व्यावसायिक एवम् प्रविधियुक्त शिक्षामा जोड दिई सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गरिने भएको छ । शिक्षाको गुणस्तर मूल्यांकन र अभिवृद्धि गर्नका लागि यसवर्षदेखि आधारभूत तह (कक्षा ८)को परीक्षा एसईई मोडेलमा परीक्षा केन्द्र तोकी सञ्चालन गरिने भएको छ । विद्यालयमा गणित, विज्ञान शैक्षिक प्रदर्शनी तथा शैक्षिक मेलाको माध्यमबाट विद्यार्थीको क्षमता मापन गर्न बजेटको व्यवस्था गरिएको छ ।

शिक्षाको गुणस्तर अभिवृद्धिका लागि समसामयिक शिक्षण विधि तथा कक्षा व्यवस्थापन एवम् आईसीटीको प्रयोग गर्न शिक्षकहरुको क्षमता अभिवृद्धि गरिने भएको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघ र अन्य सरोकारवालाहरुको क्षमता अभिवृद्धि गरी विद्यालय सुशासन कायम गरिने भएको छ । आधारभूत र माध्यमिक विद्यालयका शिक्षकहरुका लागि आईसीटी तथा कम्युटरसम्बन्धी तालिममार्फत् शिक्षकहरुको क्षमता विकास गर्न बजेट विनियोजन गरिएको छ ।

नगर शिक्षा नीति तथा योजना तर्जुमा गरी नगर शिक्षा कार्यविधि बनाई प्रभावकारीरुपमा कार्यान्वयन गरिने भएको छ । विद्यालय सम्पत्ति व्यवस्थापनमा जोड दिँदै जग्गा रजिष्ट्रेशनमा राजस्व छुटको व्यवस्था लागू गरिने भएको छ । कोभिडका कारण भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न असम्भव भएका स्थानका विद्यालयमा वैकल्पिक माध्यमबाट तथा अनलाइन प्रविधिबाट कक्षा सञ्चालन तथा मूल्यांकनको वैकल्पिक प्रणालीको व्यवस्थापन र सिकाई सहजीकरण व्यवस्थापन गरिने भएको छ ।

नगर क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुमा विद्यार्थी अनुपातका आधारमा दरबन्दी मिलान, विद्यालय समायोजन गरी शिक्षकको व्यवस्थापनलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ । शैक्षिक गुणस्तर विश्लेषण गरी नगर क्षेत्रमा सञ्चालनमा रहेका विद्यालयहरुको वर्गीकरण गरिनुका साथै संस्थागत विद्यालयहरुले दिइरहेका सेवालाई प्रभावकारी एवम् जनमुखी बनाउन सहयोग र सहकार्य गरिने उपमहानगरपालिकाको नीति तथा कार्यक्रममा जनाइएको छ ।

बीचैमा विद्यालय छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न विद्यालयको आवश्यक पूर्वाधार निर्माण गर्नुका साथै बालमैत्री शिक्षण विधि अवलम्बन गरिने भएको छ । विपन्न, जेहेन्दार, दलित विद्यार्थीहरुलाई दिइने छात्रवृत्ति कार्यक्रमलाई उपमहानगरपालिकाले निरन्तरता दिने भएको छ ।