हेटौंडाः पठन संस्कृतिको विकास गर्न पुस्तकालय अभियान समूह मकवानपुरको सहयोगमा हेटौंडा–६, शान्तिटोलमा शान्ति पुस्तकालय स्थापना गरिएको छ । शनिबार बिहान पुस्तकालय उद्घाटन गरिएको हो । पुस्तकालय अभियान समूह मकवानपुरले ५० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग गरेपछि शान्तिटोलमा निर्माण गरिएको सामुदायिक भवनमा पुस्तकालय स्थापना गरिएको हो ।

शान्ति टोल विकास संस्थाका अध्यक्ष तथा ६ नम्बर वडाका टोल विकास संस्था समन्वय समितिका अध्यक्ष केशव धितालको अध्यक्षता तथा ६ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यमा पुस्तकालय उद्घाटन गरिएको हो । पुस्तकालय उद्घाटन कार्यक्रममा वडा अध्यक्ष चौलागाईले पुस्तकालयका लागि पुस्तक खरिद गर्न आगामी आर्थिक वर्ष २०७८/७९ मा एक लाख रुपैयाँ उपलब्ध गराउने बताउनुभएको छ । उहाँले पुस्तकालयलाई उचित रुपमा सञ्चालन र व्यवस्थापन गर्न वडा कार्यालयको तर्फबाट पूर्णरुपमा सहयोग रहने पनि बताउनुभएको छ ।

पुस्तकालय उद्घाटन कार्यक्रममा पत्रकार प्रताप विष्टले पैसामुखी बन्दै गएको समाजमा पठन संस्कृतिको विकास गर्नु चुनौतिपूर्ण कार्य भएको बताउनुभयो । सभ्य र सिर्जनशील समाज निर्माणका लागि पठन संस्कृतिको विकास गर्ने गरी पुस्तकालय अभियान महत्वपूर्ण भएको पनि विष्टको भनाइ थियो । कार्यक्रममा हेटौंडा–६, चौघडास्थित वंशगोपाल माविका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेले राणा र राजाको पालामा जस्तै शिक्षाप्रति गणतन्त्रमा पनि सकारात्मक धारणा बन्न नसकेको गुनासो गर्नुभयो । आफ्नो कलम र मोवाइल पनि अर्कैले बोकिदिनुपर्ने नेतृत्वले शिक्षालाई प्राथमिकतामा राख्न नसकेको उल्लेख गर्नुहुँदै पुस्तकालय अभियान समूहको प्रयास सराहनीय रहेको बताउनुभयो । कार्यक्रममा स्थानीय बद्रिबहादुर पाठकले पुस्तकालयको उपयोगिता बढाउनु जरुरी रहेको बताउनुभयो ।

पुस्तकालय अभियान समूहका सदस्य सुशील राज गिरीले पुस्तकालय अभियानका बारेमा जानकारी गराउनुहुँदै स्थानीय समुदायको सहभागिता र सक्रियतामा सञ्चालन हुने गरी अभियानले पुस्तकालयका लागि प्रारम्भिक चरणमा ५० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग गर्ने गरेको उल्लेख गर्नुभयो । दुईसाताअघि मात्रै हेटौंडा–७, नागस्वतीमा पुस्तकालय स्थापना गरेको अभियानले दोस्रो पुस्तकालयको रुपमा शान्ति पुस्तकालय स्थापना गरेको हो । पुस्तकालय अभियान समूहकी सदस्य अर्चना ढुंगानाले अभियानको क्रममा स्थापना भएका पुस्तकालयको उचित व्यवस्थापनका लागि तालिम तथा प्रशिक्षण सञ्चालन गरिने जानकारी दिनुभयो । कार्यक्रममा टोल विकास संस्था हेटौंडा उपमहानगर समन्वय समितिका अध्यक्ष ध्रुब अधिकारीले टोल विकास संस्थाहरुमार्फत पुस्तकालय सञ्चालनको अभियानमा समन्वय समितिले आवश्यक सहजीकरण गर्ने बताउनुभयो ।

शान्ति पुस्तकालय स्थापनाका लागि प्रताप विष्ट, विश्वराज सिग्देल, बुद्ध लामा, किरण अधिकारी, केदार आचार्य, रोशन खनाल, रविन श्रेष्ठ, प्रकाश गौतम, चिरञ्जीवी भट्टराई र हरिकुमार शर्माले जनही ५ हजारका दरले रकम संकलन गरी ५० हजार रुपैयाँ बराबरको पुस्तक पुस्तकालयलाई सहयोग गरेका हुन् । कार्यक्रममा शान्ति टोल विकास संस्थाका अध्यक्ष केशव धितालले पुस्तकालयको प्रभावकारी सञ्चालन, व्यवस्थापन र उपयोग हुने वातावरण तयार पारिने बताउनुभएको छ ।
पुस्तकालय अभियान समूह मकवानपुरको कार्यबाट प्रभावित भई कार्यक्रममा सहभागीहरुले पुस्तकालय अभियानमार्फत स्थापना गरिने अर्को पुस्तकालयका लागि ५० हजार रुपैयाँ बराबरको पुस्तक खरिद गरिदिने प्रतिवद्धता समेत व्यक्त भएको छ । कार्यक्रममा नेपाल पुस्तकालय संघको केन्द्रीय समिति सदस्य गोविन्द चौलागाई, हेटौंडा–४, कमलडाँडास्थित रोशनी पुस्तकालयका अध्यक्ष संगीत श्रेष्ठ, हेटौंडा–७, नागस्वतीस्थित समृद्ध पुस्तकालयका अध्यक्ष युवराज गौतम, सचेत नागरिक युवा समूहका अध्यक्ष शिवनारायण श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।