हेटौंडाः मकवानपुर जिल्लामा आगामी आइतबारदेखि सबै सरकारी कार्यालयको सेवा सुचारु हुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बिहीबार बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर सेवा सुचारु गर्ने निर्णय गरिएको जिल्ला कोभिड–१९, संकट व्यवस्थापन केन्द्रका संयोजक एवम् मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भरतमणि पाण्डेले जानकारी दिनुभएको छ ।
एक हजारभन्दा बढी संख्यामा कोभिड–१९ का सक्रिय संक्रमित रहिरहेकाले उच्च सतर्कता अपनाएर सेवा प्रवाह गर्ने गरी कार्यालय प्रमुखहरुलाई निर्देशन समेत दिइएको प्रजिअ पाण्डेको भनाइ छ । जिल्ला प्रशासन कार्यालयले समेत बारअनुसार सेवा प्रवाह गर्न सुरु गरेको सन्दर्भमा सवै कार्यालयलाई सोहीअनुसार सतर्कता अपनाउने गरी कार्ययोजना बनाउन भनिएको उहाँले बताउनुभयो । प्रदेशस्तरीय कार्यालयहरुलाई भने सेवाग्राहीलाई टेलिफोनमार्फत जानकारी लिएर मात्रै आउने व्यवस्था गर्न भनिएको छ । जिल्लाको मालपोत र नापी कार्यालयलाई विशेष सतर्कताका साथ सेवा प्रवाह गर्न पनि भनिएको प्रजिअ पाण्डेले बताउनुभयो ।