Home मुख्य समाचार आश्रय दिने संघसंस्था छाडेर सडकमै रमाउनेहरु

आश्रय दिने संघसंस्था छाडेर सडकमै रमाउनेहरु

रेखा घिमिरे

हेटौंडाः विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै मकवानपुरमा सुरु भएको निषेधाज्ञा केही खुकुलो भए पनि जारी छ । निषेधाज्ञाको समयमा सबै क्षेत्र ठप्पप्रायः हुँदा पनि कतिपय मानिसहरु सडकमा मागेर खाने र कबाडी सामान टिपेर त्रिपालकै झुपडीमा रात कटाउनेहरु पनि छन् । त्यस्ता मानिसहरुमा अधिकांश विभिन्न संघसंस्थाको आश्रय छाडेर सडकमै रमाउन आउनेहरु छन् ।

संस्थागत आश्रयस्थल छाडेर सडकमै रमाइरहेका छन्, हेटौंडा–२ राजु खड्की । घरायसी झगडाका कारण सडकमा आएको बताउने ५२ वर्षीय राजु मानवसेवा आश्रम छाडेर सडकमै आएका हुन् । उनले विभिन्न समयमा मानवसेवा आश्रमले सडकबाट समातेर लगे पनि भागेर फेरि सडकमै आएएर कष्टपूर्ण जीवन बिताइरहेका छन् ।

बुद्धिबहादुर तामाङ

आफ्ना दुई छोरा र एक छोरी भए पनि उनीहरु कसैले पनि आफूलाई नरुचाएको कारण मागेर जीवन बिताउने गरेको राजु बताउँछन् । आश्रममा रहँदा मानव जीवनको अर्थ र संघर्षका बारेमा बुझाउँदा पनि आफूलाई सकडकै जीवन बेस लागेको राजुको भनाई छ । सडकमा आएको ६ वर्ष भएको र दिनमा ५ सय रुपैयाँसम्म कबाडी सामान संकलन गरेर कमाउने गरेको उनले बताए ।

यसैगरी अभिभावकविहीन भएर सडकमा आएको बताउँछन्, बुद्धिबहादुर तामाङ । ढेड वर्षदेखि आश्रमबाट निस्केर हिँडेको र आश्रममा नै आफ्नो बैंकको चेक र नागरिकता रहेको उनले बताएका छन् । खान दिएपनि काम गर्नुपर्दा आश्रमबाट हिँडेको उनको भनाई छ ।

दाजुभाउजुको हेलाका कारण सानैमा सडकमा आएका तामाङ अहिले लगभग ६५ वर्षका छन् । यसरी सडकमै कष्टकर जीवन बिताउनु आफ्नो बाध्यता रहेको भन्दै दिनमा ६ सय रुपैयाँसम्म फोहोरको थुप्रोमा बोतललगायत सामान खोजेर कमाउने गरेको उनले बताए ।

महिला भएर पनि सडकमै रमाइरहेकीमध्ये एक हुन्, रेखा घिमिरे । रेखाले पनि राजु र बृुद्धिबहादुरकै जसरी जीवन बिताउँदैछन् । यी व्यक्तिहरु प्रतिनिधिमात्र हुन् । जीवनको वास्तविक महत्व बुझेर संघर्ष गर्न नखोज्दा सडकमा फोहोर टिपेर र अस्वस्थ जीवन बिताउनु उनीहरुको बाध्यता बनेको छ । कतिपय मानिसहरु गरिबीले पनि सडकमा माग्न बाध्य हुने गरेका छन् । पारिवारिक समस्या तथा आफन्तको बेवास्ताले पनि मानिस सडकमा आउने गरेको यथार्थलाई मनन गर्दै सम्बन्धित निकायले परामर्श तथा जनचेतना जगाउनुपर्ने देखिन्छ ।

Exit mobile version