एजेन्सी – युरोपेली च्याम्पियनसिपमा आज राति समूह ‘एफ’ को दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । साविकको विजेता पोर्चुगलले घरेलु टोली हंगेरीसँग प्रतिस्पर्धा गर्दा विश्वविजेता तथा युरोकपको साविक उपविजेता फ्रान्सले विश्वकप र युरोकपको पूर्वच्याम्पियन जर्मनीको सामना गर्दैछ ।

विश्व विजेता फ्रान्स र ३ पटकको युरोकप विजेता जर्मनीबीचको खेल राति नेपाली समयअनसार १२ः४५ बजे सुरु हुनेछ । खेल जर्मनीको घरेलु मैदान म्युनिख एरेनामा हुनेछ । पाँच वर्षअघि घरेलु मैदानमै फाइनल हारेको फ्रान्स यसपटक उपाधिको सबैभन्दा ठूलो दाबेदारको रुपमा छ । उता जर्मनी भने २०१६ मा फ्रान्ससँगै सेमिफाइनलमा पराजित भएको थियो । २०१८ मा रुसमा भएको विश्वकप फ्रान्सले जित्दा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो ।

दुवै टोली पहिलो खेल जित्दै सुखद सुरुआत गर्ने योजनामा छन् । जर्मनीलाई घरेलु मैदानको साथ हुनेछ । उता फ्रान्समा करिम बेन्जामा झण्डै ६ वर्षपछि राष्ट्रिय टिममा फर्केका छन् । बेन्जामासहित किलिएन एमबाप्पे, एन्टोनी ग्रीजमन जस्ता फरवार्ड लाइन फ्रान्ससँग छ ।

यसअघि हंगेरी र पोर्चुगलबीचको खेल पुस्कार एरिना बुडापेस्ट हंगेरीमा नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा हंगेरी पोर्चुगललाई स्तब्ध पार्ने लक्ष्यमा मैदान उत्रनेछ । पहिलोपटक युरोकप आयोजना गरिरहेको हंगेरी फुटबलको लागि डिफेन्डिङ च्याम्पियन पोर्चुगलविरुद्धको खेल इतिहासकै सर्वाधिक महत्वको रुपमा रहनेछ । हंगेरीका लागि पोर्चुगलको सामना गर्नु सजिलो भने हुनेछैन । यस्तै साविक विजेता पोर्चुगल र हंगेरीबीचको खेल पनि हुँदैछ ।

युरोकपको ड्र सार्वजनिक भएपछि नै समूह एफलाई ‘ग्रुप अफ डेथ’ भनिएको थियो । जहाँ युरोकपको साविक विजेतासहित तीन पूर्व विजेता छन् । त्यसैले यस समूहको प्रत्येक खेल हेर्न लायक हुने अपेक्षा छ । यस समूहमा जर्मनी र हंगेरी आयोजकको रुपमा छ । जर्मनीले घरेलु मैदानमा समूहको तीनवटै खेल खेल्ने अवसर पाउनेछ । यस्तै हंगेरीले दुई खेल घरेलु मैदानमा खेल्नेछ ।