एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ई को खेलमा स्लोभाकियाले पोल्यान्डमाथि जित दर्ता गरेको छ । १० खेलाडीमा सिमित पोल्यान्डलाई स्लोभाकियाले २–१ ले स्तब्ध पारेको हो ।
खेलको १८ औं मिनेटमा स्लोभाकियाले आत्मघाती गोलको सहाराले अग्रता लिएको थियो । रोबर्ट म्याकले बायाँ विंगमा उत्कृष्ट मुभ बनाउँदै पेनाल्टी क्षेत्र भित्रसम्म आएर गरेको प्रहार गोलमा परिणत भएको थियो । गोलरक्षक वोजचिएक सेचेज्नीले बल बचाउने प्रयास गर्दा उनलाई लाग्दै बल गोल भएको थियो ।
दोस्रो हाफको पहिलो मिनेटमा नै पोल्यान्डले बराबरी गोल फर्काउन सफल रह्यो । मासिए रिबसको पासलाई क्यारोल लिनेतिले सहजै गोल गर्दै खेल बराबरीमा ल्याए । खेलमा पकड जमाउँदै अग्रता लिने सुरमा कस्सिएको पोल्यान्ड ६२ औं मिनेटमा १० खेलाडीमा समेटियो । मिडफिल्डर ग्रेगोर्ज क्रिकोवियकले दोहोरो पहेंलो कार्ड पाएपछि टोली पुनः दबाबमा परेको थियो ।
६९ औं मिनेटमा स्लोभाकियाले फेरी अग्रता लियो । कर्नरमा आएको बललाई डिफेन्डर मिलान स्क्रिनियारले गोलमा परिणत गरे । पेनाल्टी क्षेत्रभित्र कर्नरको पासलाई नियन्त्रणमा लिँदै उनले डिफेन्डरहरुको बीचबाट गोल गरेका थिए । यस जितसँगै स्लोभाकियाले समूहमा तीन महत्त्वपूर्ण अंक जोडेको छ । यसै समूहको अर्को खेलमा आज स्विडेन र स्पेन भिड्दैछन् ।
यस्तै समूह ई को खेलमा स्पेन स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको छ । स्पेनका फरवार्डको कमजोर प्रदर्शनसँगै स्वीडिस गोलरक्षकले एकपछि अर्को बचाउ गर्दा स्पेनले स्वीडेलसँग गोल रहित बराबरी खेलेको हो ।
यस बराबरीसँगै स्पेन र स्वीडेनले पहिलो खेलमा अंक बाँडेका छन् । समुहमा स्लोभाकिया ३ अंक जोड्दै शीर्ष स्थानमा छ भने अंकविहिन पोल्यान्ड पुछारमा रहेको छ ।